२४ श्रावण २०८३, आईतवार
रेसुङ्गा बहुमुखी क्याम्पसद्वारा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान
गुल्मी, २३ साउन । गुल्मीको शैक्षिक धरोहरका रूपमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसले स्नातक तह तेस्रो वर्षको परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीहरूलाई सम्मान गरेको छ । क्याम्पसमा आयोजित कार्यक्रममा व्यवस्थापन, शिक्षा र मानविकी संकायतर्फ उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा व्यवस्थापन संकायतर्फ ७६.८ प्रतिशत अङ्क प्राप्त गरी सर्वोत्कृष्ट स्थान हासिल गर्ने छात्रा अविना कुँवर त्यसैगरी करिना टण्डन, करिष्मा टण्डन र रेशम पाण्डेय रहेका छन् । त्यस्तै शिक्षा संकायतर्फ दीपक खनाल तथा मानविकी संकायतर्फ मेघराज खनाल रहेका छन् ।
कार्यक्रममा रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थी एवं क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीप्रसाद भलामीले उनीहरुको उत्कृष्ट शैक्षिक उपलब्धि, मेहनत र लगनशीलतालाई प्रोत्साहन गर्दैैै नगद र प्रमाणपत्रद्वारा सम्मान गरेका हुन् । कार्यक्रमका रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले सम्मान प्रदान गर्दै विद्यार्थीहरुको सफलताले क्याम्पसको शैक्षिक स्तरलाई अझ उचाइमा पु¥याएको भन्दै उनीहरूलाई भविष्यमा अझ मेहनत गर्नका लागि प्रेरित गरेका थिए । उक्त सम्मानले आगामी दिनमा अन्य विद्यार्थीलाई पनि अध्ययनमा प्रेरणा मिल्ने अपेक्षा गरिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष भलामीले बताए ।
कार्यक्रममा सोही क्याम्पसका पूर्व विद्यार्थी एवं ससस्त्र प्रहरी वल गुल्मीमा हालै सरुवाभई कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका प्रहरी नायव उपरिक्षक आनन्द खनाललाई समेत सम्मान गरिएको थियो । २०३९ मा स्थापना भएको रेसुङ्गा बहुमुखी क्याम्पसमा हाल स्नातक र स्नातकोत्तर तहमा करिब ७ सय ५२ जना विद्यार्थी अध्ययनरत छन् ।
क्याम्पसले शैक्षिक गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै अतिरिक्त कक्षा, पुनरावृत्ति कक्षा, नियमित परामर्श सेवा, आन्तरिक परीक्षा प्रणाली, नतिजा विश्लेषण तथा प्रविधिमैत्री शिक्षण विधि जस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएका क्याम्पस प्रमुख सुर्य उपाध्यायले जानकारी दिएका छन् ।
उक्त सम्मान कार्यक्रममा क्याम्पस संचालक समिति, प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा संचीरकर्मी लयातयको सहभागिता रहेको थियो ।


