१९ बैशाख २०८३, शनिबार
सत्यवतीमा लक्षित वर्गका लागि निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गरिने
गुल्मी, ७ चैत । गुल्मीको सत्यवती गाउँपालिकाले लक्षित समुदायका लागि गाउँपालिका स्तरीय लोक सेवा आयोगको लागि पुर्व तयारी कक्षा सञ्चालन गर्ने भएको छ । लोक सेवा तथा सरकारी सेवा प्रतिको आकर्षणलाई मध्यनजर गर्दै निःशुल्क लोक सेवा आयोग तयारी कक्षा सञ्चालन लागिएको गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेले जानकारी दिनुभएको छ ।
गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ को स्वीकृत कार्यक्रम अन्तर्गत उक्त तयारी कक्षा सञ्चालन गर्न लागेको हो । गाउँपालिकाका अनुसार विपन्न तथा लक्षित समुदायका व्यक्तिहरूलाई लोक सेवा तथा अन्य सरकारी सेवामा प्रवेशका लागि सक्षम बनाउने उद्देश्यले उक्त कार्यक्रम ल्याइएको अध्यक्ष पाण्डेले बताउनुभयो ।
पालिकाले तयारी कक्षामा सहभागी हुन चाहने इच्छुक योग्य उम्मेदवारहरूका लागि सार्वजनिक रुपमा सूचना समेत प्रकाशित गरेको छ । उक्त सूचना प्रकाशित भएको मितिले १० दिनभित्र गाउँपालिकाको महिला तथा बालबालिका शाखामा निवेदन दिन सक्ने जनाईएको छ । कक्षामा सहभागी हुनका लागि न्यूनतम एसएलसी÷एसईई उत्तीर्ण गरेको, सत्यवती गाउँपालिकाभित्र स्थायी बसोबास भएको तथा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको (महिला तथा अपाङ्गका हकमा ४० वर्ष ननाघेको) हुनुपर्ने छ ।
आवेदकले व्यक्तिगत निवेदन, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र तथा आर्थिक अवस्था कमजोर भएको सिफारिस पेश गर्नुपर्ने गाउँपालिकाले जनाएको छ । कक्षामा संघीय निजामती, प्रदेश निजामती तथा स्थानीय तहका सेवामा प्रवेशका लागि आवश्यक पाठ्यक्रम अनुसार प्रशिक्षण प्रदान गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पाण्डेले जानकारी दिनुभएको छ ।
तयारी कक्षामा प्रथम तथा द्वितीय श्रेणी (राजपत्र अनंकित) तहका पदका लागि अभिमुखीकरण गराइने जनाइएको छ । गाउँपालिकाले लक्षित वर्ग अन्तर्गत आर्थिक रूपमा कमजोर, दलित, अपाङ्ग, महिला, आदिवासी÷जनजाति, मधेसी, मुस्लिम तथा सिमान्तकृत वर्गलाई प्रमुख प्राथमिकता दिने जनाएको छ ।

