रेसुङ्गा क्षेत्रको भुवाने पार्कमा सप्ताहव्यापी राष्ट्रकल्याण महायज्ञ सञ्चालन

admin

२०८२ चैत्र १३ गते, शुक्रबार १९:३३ मा प्रकाशित

गुल्मी, १३ चैत । गुल्मीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गाको काखमा निर्माण गरिएको सीताराम मन्दिरमा ‘राम कथा, शिव पुराण पारायण, हनुमान चालिसा हवनात्मक अनुष्ठान तथा राष्ट्रकल्याण महायज्ञ’ शुक्रबारदेखि सुरु भएको छ । चैत १९ गतेसम्म सञ्चालन हुने उक्त महायज्ञको लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की उद्घाटन गर्नुभएको छ ।

उद्घाटन कार्यक्रममा मन्त्री कार्कीले धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूले समाजमा सकारात्मक ऊर्जा र एकता बढाउने बताउँदै यस्ता अभियानलाई सबैले सहयोग गर्नु पर्ने उल्लेख गर्नुभयो । उहाँले रेसुङ्गा क्षेत्रलाई धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्नु पर्नेमा जोड दिनुभएको छ ।

      राम नवमीको अवसर पारेर हरेक वर्ष आयोजना हुँदै आएको महायज्ञ यस वर्ष पनि निरन्तरता दिईएको छ । सात दिनसम्म चल्ने महायज्ञमा प्रमुख कथा वाचिकाको रूपमा सुधा अच्युत प्रिया रहनु भएको छ । रेसुङ्गा र गुल्मीदरबार क्षेत्रका भक्तजन, आमा समूह, क्लब तथा संघ संस्थाको सहभागितामा गौडाकोटबाट महायज्ञ स्थलसम्म कलश यात्रा समेत गरिएको थियो ।

सिताराम मन्दिरका परिकल्पनाकार सुब्बा बस्नेतका अनुसार दैनिक रूपमा रामकथा, आरती, हनुमान चालिसा हवन, भजन तथा विभिन्न झाँकी प्रस्तुत गरिनेछ । बस्नेतले व्यक्तिगत रूपमा डेढ करोड भन्दा बढी लगानी गरेर सितारामको मन्दिर सहित विभिन्न भौतिक संरचना निर्माण गर्नुभएको छ ।

हाल हङ्कङ्मा बस्दै आउनु भएका गुल्मीदरबार गाउँपालिका–३ निवासी बस्नेतले मन्दिर स्थापना गरेपछि प्रत्येक वर्ष महायज्ञसँगै निःशुल्क शिविर, विपन्नका लागि चौरासी, व्रतबन्ध, विवाह तथा रुद्री लगायत धार्मिक कार्य सञ्चालन गर्दै आउनुभएको छ । राम्चे डाँडामा अवस्थित यो मन्दिर पछिल्लो समय धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकसित हुँदै गएको छ ।

स्थानीय मान्यताअनुसार त्रेतायुगमा भगवान श्रीरामले रेसुङ्गा क्षेत्रमा पाइला टेकेको विश्वास गरिन्छ । सोही आधारमा मन्दिर निर्माण गरिएको बताइएको छ । मन्दिर निर्माणपछि दैनिक रूपमा दर्शनार्थीको संख्या बढ्दै गएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुमन कार्कीले बताउनु भएको छ । उहाँका अनुसार रेसुङ्गाको प्राकृतिक सौन्दर्यसँगै सीताराम मन्दिरले थप आकर्षण बढाएको छ ।

महायज्ञका क्रममा दैनिक पूजा–आराधना, कथा प्रवचन र सांस्कृतिक प्रस्तुति सञ्चालन गरिने बताईएको छ । उक्त यज्ञले स्थानीयमा धार्मिक तथा आध्यात्मिक जागरण समेत बढाउने थानीयले बताएका छन् ।