१८ बैशाख २०८३, शुक्रबार
महासंघको स्थापना दिवसमा रेसुङ्गा क्षेत्रमा सरसफाई
गुल्मी, १६ चैत । नेपाल पत्रकार महासंघको ७१औँ स्थापना दिवसको अवसरमा पत्रकार महासंघ गुल्मी शाखाले रेसुङ्गा क्षेत्रमा सरसफाई कार्यक्रम गरेको छ । महासंघले धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गामा सरसफाइ कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो ।
महासंघद्वारा रेसुङ्गाको गर्जुरा क्षेत्रमा सरसफाइ गर्दै वातावरण संरक्षण र पर्यटन प्रवद्र्धनमा सबैको साझा जिम्मेवारी रहेको सन्देश प्रवाह गरिएको हो । पत्रकारहरू स्वयं सक्रियभई सरसफाइ गर्नुले समाजप्रति सञ्चारकर्मीको उत्तरदायित्व र सकारात्मक भूमिका प्रवाह भएको बताईएको छ ।
सरसफाइ कार्यक्रम मार्फत धार्मिक तथा पर्यटकीय क्षेत्रको स्वच्छता कायम राख्न सरोकारवाला निकाय र आगन्तुक सबैलाई सचेत बन्न आग्रह गरिएको छ । महासंघबाट गरिने यस्ता प्रकारका गतिविधिले दिवसलाई औपचारिकतामा मात्र सिमित नगरी सामाजिक रुपान्तरणमा लाग्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ ।
नेपाल पत्रकार महासंघ गुल्मी शाखाले जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गा क्षेत्रमा फोहोर नगर्न सर्वसाधारणसँग आग्रह गरेको छ । रेसुङ्गाको प्राकृतिक सौन्दर्य, धार्मिक महत्व तथा पर्यटकीय आकर्षण जोगाउन सबैले जिम्मेवार बन्नुपर्ने जनाएको छ ।
रेसुङ्गा क्षेत्रको वातावरण स्वच्छ र सफा राख्नु सबैको साझा दायित्व भएको भन्दै महासंघले प्लास्टिक तथा सिसाजन्य सामग्री जथाभावी फाल्ने, धार्मिक तथा पिकनिक गतिविधिपछि फोहोर व्यवस्थापन नगर्ने जस्ता प्रवृत्तिले वातावरणमा नकारात्मक असर पारिरहेको जनाइएको छ ।
महासंघले रेसुङ्गाको संरक्षण र प्रवद्र्धनका लागि सामूहिक प्रयास आवश्यक रहेको भन्दै सबैलाई स्वच्छ वातावरण कायम राख्न समेत आग्रह गरेको छ ।

