२६ बैशाख २०८३, शनिबार
नगर स्थापना दिवसमा रेसुंगामा नागरिक मैत्री कार्यक्रम घोषणाा
गुल्मी, २५ वैशाख । गुल्मीको रेसुंगा नगरपालिकाले विविध कार्यक्रम सहित स्थापना दिवस मनाएको छ ।
शुक्रबार स्थापना दिवसका अवसरमा नगरपालिकाले स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा, सुशासन तथा विकाससँग सम्बन्धित विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ । सार्वजनिक गरिएका कार्यक्रम पूर्ण खोप, पोषणमैत्री तथा किशोरीमैत्री स्वास्थ्य संस्थायुक्त पालिका सुनिश्चितता तथा दिगोपना कार्यक्रम, श्वासप्रश्वासका बिरामीका लागि निःशुल्क अक्सिजन कन्सन्ट्रेटर वितरण अभियान घोषणा, पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा लगायत रहेका छन ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रियसभा सदस्य चन्द्र बहादुर केसीले वर्तमान राजनीतिक तथा सामाजिक अवस्थालाई गम्भीर रूपमा मूल्यांकन गर्नुपर्ने बताउनुभयो । उहाँले समयअनुकूल परिवर्तनलाई आत्मसात् गर्नुपर्नेमा जोड दिँदै मुलुक चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको बताउनु भएको थियो।
लुम्बिनी प्रदेशसभा सदस्य डिल्लीराज भुसालले स्थानीय तहले विकासका योजनामा फड्को मार्नुपर्ने आवश्यकता औंल्याउँदै स्थानीय सरकार स्वायत्त भएकाले चाहेका विकास योजना आफैं अघि बढाउन सक्ने बताउनु भएको थियो ।
त्यसैगरी रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले शिक्षा, स्वास्थ्य र पर्यटनलाई नगर विकासको मुख्य आधार बनाएर योजनाबद्ध रूपमा काम भइरहेको जानकारी दिनुभएको थियो। उहॅाले वृद्ध नागरिकलाई अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउनेदेखि मोतियाबिन्दु भएका नागरिकको निःशुल्क आँखाको शल्यक्रियासम्मका कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार भएकाले राज्यको अनुभूति दिलाउने प्रमुख जिम्मेवारी स्थानीय तहको रहेको बताउनुभयो । उहाँले गाउँ–बस्ती रित्तिने अवस्थालाई रोक्न स्थानीय स्तरमै रोजगारी र अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।
स्थापना दिवसका अवसरमा स्थानीय पाठ्यपुस्तक निर्माण, निर्माण व्यवसाय, पर्यटन प्रवर्द्धन, प्रधानमन्त्री रोजगार कार्यक्रम, खेलकुद तथा कृषि क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्ति तथा समूहलाई सम्मान गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख पिताम्बर पन्थीले बताउनु भएको छ ।

