रेसुङ्गा गौशालामा राधा माधव समितिद्वारा गौसेवा कार्यक्रम सम्पन्न

admin

२०८३ बैशाख ३० गते, बुधबार १२:४२ मा प्रकाशित

गुल्मी, रेसुङ्गा ।

राधा माधव समिति रेसुङ्गा सत्संग केन्द्र गुल्मी ले सामाजिक उत्तरदायित्व अन्तर्गत रेसुङ्गा क्षेत्रमा अवस्थित रेसुङ्गा गौशाला मा रहेका गाईहरूको लागि आवश्यक खर–पराल, दाना, ढुटो, हरियो घाँस लगायतका सामग्री सहयोग गर्दै गौसेवा कार्यक्रम सम्पन्न गरेको छ।

हरेक वर्ष झैँ यस वर्ष पनि समितिले गौसेवा कार्यक्रम आयोजना गरेको हो। विशेषगरी यस वर्ष गौशाला क्षेत्र आसपास लागेको आगलागीका कारण घाँसपात जलेर गौचरण क्षेत्र अस्तव्यस्त बनेपछि समितिले गौसेवाका लागि विशेष आह्वान गरेको थियो। कार्यक्रममा सहभागी सत्संगीहरूले गाईहरूलाई फलफूल खुवाउनुका साथै गाईहरूसँग समय बिताउँदै धार्मिक तथा मानवीय सेवाको भाव प्रकट गरेका थिए।

वि.सं. २०६७ सालमा स्थापना भएको राधा माधव समिति रेसुङ्गा सत्संग केन्द्र गुल्मी ले सामाजिक सेवाका विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ। समितिले विपन्न वर्गका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण, विभिन्न समयमा न्यानो कपडा सहयोग, असहाय परिवारलाई खाद्यान्न वितरण, मन्दिर सरसफाइ लगायतका सामाजिक तथा धार्मिक कार्यहरू निरन्तर गर्दै आएको जनाएको छ।

समितिका अनुसार हरेक शनिबार तम्घासस्थित संस्थाको आफ्नै साधना हलमा साधना, सत्संग तथा विभिन्न आध्यात्मिक क्रियाकलापहरू सञ्चालन हुने गर्दछन्। धार्मिक चेतनासँगै सामाजिक सेवामा समेत सक्रिय रहँदै आएको समितिको गौसेवा कार्यक्रमलाई स्थानीयवासीले सकारात्मक रूपमा लिएका छन्। रेसुङ्गा संरक्षण समितिका उपाध्यक्ष मोति खनालले गौ सेवा लगायतका क्रियाकलापमा सहभागी भएकोमा राधा माधव समितिलाई धन्यवाद दिनुभएको थियो।