गुल्मीमा विपद्जन्य घटनाको कृत्रिम अभ्यास

admin

२०८३ जेष्ठ १२ गते, मंगलवार २०:३६ मा प्रकाशित

गुल्मी, १२ जेठ । वर्षायाम नजिकिँदै जाँदा सम्भावित विपद् व्यवस्थापनमा पूर्वतयारी र समन्वयको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले गुल्मीको इस्मा गाउँपालिका–२ स्थित छल्दी खोलामा विपद् उद्धार सम्बन्धी कृत्रिम अभ्यास गरिएको छ । जिल्ला विपद व्यवस्थापन समितिद्वारा आयोजित मनसुन पूर्वतयारीका लागि विपद् अभ्यास कार्यक्रममा बाढीमा फसेका तथा बगेका व्यक्तिहरूको खोज तथा उद्धार, प्राथमिक उपचार र शव व्यवस्थापन लगायतका विभिन्न गतिविधिको प्रदर्शन गरिएको थियो ।

कार्यक्रमका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले यस्ता अभ्यासले विपद्का बेला हुने जनधनको क्षति न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए । उनले प्राकृतिक विपद् जुनसुकै बेला आउन सक्ने भएकाले सुरक्षाकर्मी मात्र नभई स्थानीय नागरिकसमेत सचेत र तयारी अवस्थामा रहनुपर्नेमा जोड दिए ।

अभ्यासका क्रममा जल तथा मौसम पूर्वानुमान विभागले भारी वर्षाको सम्भावना रहेको परिकल्पना गर्दै अविरल वर्षापछि इस्मा गाउँपालिका–२ स्थित छल्दी खोला किनारको घर बगाएको र एकै परिवारका चार जना बेपत्ता भएको काल्पनिक अवस्था सिर्जना गरिएको थियो । उक्त सूचना प्राप्त भएपछि तालिम प्राप्त सुरक्षाकर्मी परिचालन गरी खोज तथा उद्धार गर्ने तरिका प्रदर्शन गरिएको थियो ।

छल्दी खोलाको दुवै किनारलाई अभ्यास क्षेत्र निर्धारण गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नगर प्रहरी तथा नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवकहरूको संयुक्त टोलीद्वारा कृतिम उद्धार अभ्यास सञ्चालन गरिएको थियो । अध्यासको क्रममा पहिलो चरणमा गहिरो खोँच तथा भीरमा फसेका व्यक्तिहरूको उद्धारका लागि प्रयोग गरिने ‘¥यापलिङ’ विधिको प्रदर्शन गरिएको थियो । त्यसपछि ठूलो खोलामा बाढी आएका बेला प्रयोग गरिने ‘अप्पर वाटर रिभर क्रसिङ’ प्रविधि मार्फत नेपाली सेना र सशस्त्र प्रहरीका उद्धारकर्मीहरूले डोरीको सहायताले खोला वारपार गर्दै प्रभावित क्षेत्रका व्यक्तिहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने अभ्यास गरिएको थियो ।

तेस्रो चरणमा खोलामा बगेका व्यक्तिलाई कृत्रिम बोट तथा ‘थ्रो ब्याग’ प्रयोग गरी उद्धार गरिएको थियो । त्यसैगरी खोलामा बगिरहेको शवजस्तो वस्तु देखिएपछि सुरक्षाकर्मी परिचालन गरी शव खोज, उद्धार तथा व्यवस्थापन प्रक्रियाको समेत अभ्यास गरिएको थियो । विपद् व्यवस्थापनमा संलग्न निकायहरूबीचको समन्वय, उद्धार अभ्यास तथा स्थानीय समुदायमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सशस्त्रका प्रहरी नायव उपरीक्षक सुदीप प्रसाईले जानकारी दिएका छन् ।

कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, विभिन्न सरकारी कार्यालयका प्रमुख, जनप्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो ।