२७ जेष्ठ २०८३, बुधबार
लागूऔषध दुव्र्यसनविरुद्ध जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता
गुल्मी, २७ जेठ । लागूऔषध दुव्र्यसनले युवा पुस्तालाई गम्भीर संकटतर्फ धकेलिरहेको भन्दै गुल्मीका विद्यार्थीहरूले त्यस विरुद्ध सशक्त आवाज उठाएका छन् । “लागूऔषध दुव्र्यसनमुक्त समाज निर्माणका लागि युवा र समाजको भूमिका” विषयमा आयोजित जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा विद्यार्थीहरूले तथ्य, उदाहरण र तर्क सहित दुव्र्यसनका असर तथा नियन्त्रणका उपायबारे धारणा राखेका हुन् ।
जिल्ला प्रशासन कार्यालय गुल्मीको आयोजना तथा शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीको संयोजनमा सम्पन्न प्रतियोगितामा गण्डकी इङ्लिस बोर्डिङ स्कुलका छात्र अंकित पाण्डे प्रथम हुनुभएको छ । मदाने गाउँपालिका स्थित रघुफेँदी प्रतिमान नमूना माध्यमिक विद्यालयकी छात्रा यमुना मल्ल द्वितीय, छत्रकोट गाउँपालिका स्थित सरस्वती माध्यमिक विद्यालयकी छात्रा आस्मा न्यौपाने तृतीय तथा इस्मा गाउँपालिका स्थित हिमालय माध्यमिक विद्यालयकी छात्रा सुष्मा खत्रीले सान्त्वना स्थान प्राप्त गर्नुभएको थियो ।
प्रतियोगिताका क्रममा विद्यार्थीहरूद्वारा लागूऔषध दुव्र्यसनका कारण किशोर तथा युवामा बढ्दै गएको अपराध, पारिवारिक विखण्डन, मानसिक स्वास्थ्य समस्या र शैक्षिक क्षतिबारे चर्चा गरिएको थियो । प्रतियोगिताका सहभागिहरुले विद्यालय तहबाटै सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने, अभिभावकको निगरानी बढाउनुपर्ने तथा समाजले जोखिममा रहेका युवालाई समयमै परामर्श र सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए । केही प्रतियोगीहरुले लागूऔषध सेवनका कारण भविष्य नै अन्धकार बनेका युवाका उदाहरण प्रस्तुत गर्दै रोकथाममा सबै पक्षको साझा दायित्व रहेको बताएका थिए ।
लागूऔषध नियन्त्रण सम्बन्धी जिल्ला स्तरीय वार्षिक कार्ययोजना अन्तर्गत आयोजित प्रतियोगितामा जिल्लाका १२ वटै स्थानीय तहबाट पालिका स्तरमा छनोट भएका विद्यार्थीहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा विषयवस्तु, प्रमाण, विचार, शैली र प्रस्तुतीकरणलाई मूल्यांकनका मुख्य आधार बनाइएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले लागूऔषध दुव्र्यसनको जोखिममा विद्यार्थी तथा युवा वर्ग सबैभन्दा बढी पर्ने भएकाले उनीहरूमा चेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनु भएको थियो । उहाँले दुव्र्यसनमुक्त समाज निर्माणका लागि परिवार, विद्यालय, समुदाय र युवाबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीहरुलाई क्रमशः १४ हजार, १० हजार, सात हजार र चार हजार पाँच सय नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

