चेकमा रायमाझी परिवारद्वारा पहिलो पटक खुल्ला भलिबल प्रतियोगिता सम्पन्न

admin

२०८३ असार २२ गते, सोमबार १४:४९ मा प्रकाशित

चेक रिपब्लीक, २२ असार । रायमाझी परिवार भलिबल क्लब चेक रिपब्लिकको आयोजनामा चेक गणतन्त्रमा प्रथम खुला भलिबल प्रतियोगिता सम्पन्न भएको छ।

चेक रिपब्लिकको पिल्जेन सहरमा आयोजित प्रतियोगितामा कलातोभी भलिबल समूह प्रथम, पिल्जेन भलिबल समूह द्वितीय तथा कादान भलिबल समूह तृतीय भएका छन्।

प्रतियोगितामा प्रथम हुने समूहले रु एक लाख ४० हजार, द्वितीयहुनेले रु एक लाख पाँच हजार तथा तृतीयले रु ३५ हजार नगद पुरस्कार प्राप्त गरेका छन्। विजेता टोली तथा उत्कृष्ट खेलाडीलाई नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

      प्रतियोगितामा विराज जिसी उत्कृष्ट खेलाडी, निशान खत्री उत्कृष्ट सटर र नारायण खड्का ‘म्यान अफ द म्याच’ घोषित भएता थिए ।

कार्यक्रमका प्रमुख अतिथि गैरआवासीय नेपाली संघका केन्द्रीय महासचिव डा. चिरञ्जीवी खड्काले प्रवासमा रहेका नेपालीलाई खेलकुदले एकताबद्ध बनाउने र नेपाली समुदायबीच आपसी सद्भाव अभिवृद्धि गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको थियो । उहॅाले विदेशमा रहेर पनि नेपाली भाषा, संस्कृति र खेलकुदलाई जोगाउने प्रयासमा रायमाझी परिवारले गरेको काम प्रशंसनीय रहेको बताउनु भएको थियो ।

       ओम रायमाझीको संयोजकत्वमा सम्पन्न प्रतियोगितामा सह संयोजक जितेन्द्र रायमाझीले विदेशमा रहेका नेपालीबीच आपसी सम्बन्ध, भाइचारा र खेल संस्कृतिको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । रायमाझी परिवारको पहलमा देशबाहिर पहिलो पटक आयोजना गरिएको उक्त प्रतियोगितालाई आगामी वर्षमा अझ व्यापक बनाइने उहॅाले बताउनुभयो।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ गुल्मीका पूर्वअध्यक्ष जनार्दन घिमिरेको विशेष आतिथ्यता रहेको थियो ।

प्रतियोगितामा चेक गणतन्त्रका विभिन्न सहरबाट नेपाली खेलाडी, खेलप्रेमी र दर्शकको उल्लेखनीय सहभागिता रहेको थियो ।