२९ असार २०८३, सोमबार
फिनल्यान्डमा फिनिस-नेपाली समाजद्वारा आयोजित समर पिकनिक -२०२६ सम्पन्न
फिनल्यान्ड (हेलसिन्की) २९ असार ।फिनल्यान्डमा क्रियाशील फिनिस-नेपाली समाजको आयोजनामा समर पिकनिक–२०२६ सम्पन्न भएको छ।
फिनल्यान्डमा रहेका नेपाली समुदायबीच आपसी एकता, सद्भाव र भाइचाराको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै नेपाली भाषा, संस्कृति, परम्परा र मौलिक खानपानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देस्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो।
कार्यक्रमले विदेशमा हुर्कंदै गरेका नयाँ पुस्तालाई नेपाली संस्कार र सांस्कृतिक पहिचानसँग जोड्ने, विभिन्न पुस्ताबीच अनुभव आदानप्रदान गर्ने तथा समुदायबीच आपसी सहयोग र सहकार्यको भावना अभिवृद्धि गर्ने अपेक्षा गरिएको फिनिस-नेपाली समाज समाजकी अध्यक्ष रूक्मिणी भट्टराईले बताउनुभयो।
फिनल्यान्डको अग्रणी नेपाली संस्थाका रूपमा रहेको उक्त संथाले आयोजना गरेको कार्यक्रममा फिनल्यान्डका विभिन्न स्थानमा बसोबास गर्ने नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।
समर पिकनिकमा आफ्नै घरमा तयार गरिएका विभिन्न नेपाली परिकारको स्वाद, सांस्कृतिक प्रस्तुति, पञ्चेबाजा, भजन मण्डली, तीज गीत तथा मनोरञ्जनात्मक कार्यक्रमले नेपालीपनको अनुभूति दिलाएको थियो। विभिन्न उमेर समूहलाई लक्षित खेलकुद प्रतियोगिता तथा मनोरञ्जनात्मक गतिविधिले कार्यक्रममा थप उत्साह थपेको थियो।
कार्यक्रममा समाजका पूर्वअध्यक्षहरू देवीदत्त शर्मा, हेमराज शर्मा, निवर्तमान अध्यक्ष सञ्जु काउछा, गैरआवासीय नेपाली संघका उपाध्यक्षद्वय वरुण खनाल, तारा प्रसाद सापकोटा, नेपाल पत्रकार महासंघ गुल्मीका पुर्व अध्यक्ष जनार्दन घिमिरे एवं विभिन्न संघसंस्थाका प्रतिनिधि एवं नेपालबाट फिनल्यान्ड भ्रमणमा आउनु भएका आमाबुवा तथा आफन्तजनको समेत सहभागिता रहेको थियो ।
समर पिकनिक–२०२६ लाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने र सहभागिता जनाउने सबैप्रति समाजको तर्फबाट धन्यवाद समेत व्यक्त गरिएको थियो ।


