२१ भाद्र २०८३, आईतवार
बाढीपीडितहरुको सम्झनामा गुल्मीमा सामूहिक धार्मिक अनुष्ठान गरिने
गुल्मी, २० भदौ । रसुवाको भोटेकोशीमा भदौ १० गते गएको विनाशकारी बाढी पहिरोबाट ज्यान गुमाएका दिवंगत आत्माको सद्गति तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना सहित गुल्मीमा बृहत् धार्मिक अनुष्ठान आयोजना गरिने भएको छ ।
विश्व हिन्दु महासंघ गुल्मीको आयोजना तथा विभिन्न धार्मिक एवं सामाजिक संघ– संस्थाहरूको सहकार्यमा आगामी भदौ २४ गतेको सदरमुकाम तम्घासमा सामुहिकरुपमा शान्तिको कामनार्थ धार्मिक अनुष्ठान आयोजना गर्न लागिएको विश्वहिन्दु महासंघ गुल्मीका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिनुभयो ।
प्राकृतिक विपत्तिका कारण देशमा ठूलो जनधनको क्षति भएको, धेरै नागरिकले ज्यान गुमाएको, बेपत्ता बनेको र ठूलो संख्यामा मानिसहरु घाइते भएको विषम परिस्थितिमा दिवंगत आत्माको वैकुण्ठवास तथा चिरशान्तिको कामना गर्न धार्मिक अनुष्ठान आयोजना गर्न लागिएको अध्यक्ष भुसालले जानकारी दिनुभयो ।
उक्त दिन तम्घास स्थित नयाँबजारमा रहेको तम्घासस्थान संयुक्त भगवती मन्दिर परिसरमा धार्मिक अनुष्ठान अन्तर्गत भागवत, वेद, रुद्री, चण्डी तथा गीता लगायत पाठपारायण गरिने भएको छ । कार्यक्रममा २७ जना पण्डितद्वारा धार्मिक विधि अनुसार पाठपारायण गरिने आयोजकले जनाएको छ । संकटमोचन तथा सामूहिक शान्तिको कामनासहित गरिने उक्त अनुष्ठानमा विभिन्न धार्मिक विधि तथा वैदिक मन्त्रजाप समेत गरिने बताईएको छ ।
कार्यक्रमलाई व्यवस्थित बनाउनका लागि विश्व हिन्दु महासंघ गुल्मीका अध्यक्ष सुरेशचन्द्र भुसालको संयोजकत्वमा अयोध्याप्रसाद श्रेष्ठ, महाशर्मा भण्डारी, दीन पन्थी, थोपाल पन्थी, ताराप्रसाद भुसाल र अशोक पाण्डे सहित सात सदश्यीय समिति समेत गठन गरिएको छ । उक्त धार्मिक अनुष्ठानमा सहभागी हुन सम्पूर्ण धर्म अनुरागी, समाजसेवी तथा सर्वसाधारणमा अनुरोध समेत गरिएको छ ।


