३१ भाद्र २०८३, बुधबार
नेपाल प्रेस युनियन गुल्मीको अध्यक्षमा घिमिरे
गुल्मी, २९ भदौ । नेपाल प्रेस युनियन जिल्ला शाखा गुल्मीको १०औँ जिल्ला अधिवेशनबाट प्रकाश घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । शनिबार सदरमुकाम तम्घासमा सम्पन्न अधिवेशनले युनियनको नयाँ नेतृत्व सहित जिल्ला कार्यसमिति, केन्द्रीय पार्षद तथा प्रदेश पार्षदहरू सर्वसम्मत चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा नवीन कार्की र सरस्वती जिसी, सचिवमा मनु सुनार, सह–सचिवमा महादेव खरेल तथा कोषाध्यक्षमा अनिल खत्री निर्वाचित हुनुभएको छ । त्यस्तै जिल्ला सदस्यहरूमा मोहन गौतम, गंगु कुँवर मगर, सुरज आचार्य, बिमल सुनार र पवन खत्री निर्वाचित हुनुभएको निर्वाचन समितिका सदस्य अधिवक्ता भिम न्यौपानेले जानकारी दिनुभयो । अधिवेशनबाट केन्द्रीय पार्षदमा जनार्दन घिमिरे, रेशम कुँवर, विष्णुप्रसाद आचार्य ‘चकित’, सुमन महतरा, रमेश विश्वकर्मा र चन्द्रकला राना चयन हुनुभएको छ । यसैगरी प्रदेश पार्षदमा अर्जुन सापकोटा, हुकुम थापा, सुरज कार्की र दीपक नेपाली निर्वाचित हुनुभएको छ । नवनिर्वाचित अध्यक्ष घिमिरेले नेपाल प्रेस युनियनको संगठनलाई थप सुदृढ बनाउँदै पत्रकारहरूको पेशागत हकहित, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारिता क्षेत्रको विकासमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल प्रेस युनियन गुल्मीको शाखा स्थापना २०५२ सालमा भएको हो । शाखामा हाल ३० जना सदस्य अवद्ध छन् । उक्त अधिवेशनको नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभा उपसभापति भुवनप्रसाद श्रेष्ठले उद्घाटन गर्नुभएको थियोे । कार्यक्रममा केन्द्रीय प्रतिनिधि एवं प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधब प्रसाद अर्यालले नव निर्वाचित सम्पूर्ण पदाधिकारहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।


