चन्द्रकोटमा प्रथम वडाध्यक्ष कप सुरु पुरुष र महिला भलिबलमा २२ टोली सहभागी

admin

२०८३ आश्विन २६ गते, सोमबार १७:४३ मा प्रकाशित

गुल्मी, २६ असोज । गुल्मीको चन्द्रकोट गाउँपालिका–२ स्थित विशुखर्कमा प्रथम वडाध्यक्ष कप सुरु भएको छ । खेलकुदको विकास, स्थानीय प्रतिभाको पहिचान र वडास्तरमा सकारात्मक प्रतिस्पर्धाको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा पुरुषतर्फ १४ र महिलातर्फ आठ गरी २२ टोली सहभागी भएका छन् ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा चन्द्रकोट गाउँपालिकाका साथै अन्य केही पालिकाका वडाबाट समेत खेलाडीको सहभागीता रहेको वडाध्यक्ष कमल केसीले जानकारी दिनुभएको छ । प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टोलीले रु ५० हजार र द्वितीय हुने टोलीले रु ३० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । सेमिफाइनलमा पुग्ने अन्य दुई टोलीलाई रु १०–१० हजार प्रदान गरिने बताईएको छ ।

त्यसैगरी महिलातर्फ प्रथम हुने टोलीले रु ३० हजार र द्वितीय हुने टोलीले रु २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । सेमिफाइनलमा पुग्ने अन्य दुई टोलीलाई रु १०–१० हजार पुरस्कार प्रदान गरिनेछ । दुवै विधाका विजेता तथा उपविजेता टोलीलाई कप, मेडल र प्रमाणपत्रस मेत प्रदान गरिने आयोजकले जनाएको छ ।

उक्त प्रतियोगिताको प्रतिनिधिसभा सदस्य सुलभ खरेलले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा उहाँले खेलकुद राष्ट्रलाई अन्तरराष्ट्रिय स्तरमा चिनाउने महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै खेल क्षेत्रको विकास र प्रवद्र्धनका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो ।

चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसी क्षेत्रीले वडाहरूबीच हुने यस्ता सकारात्मक प्रतिस्पर्धाले खेलकुदको विकाससँगै गाउँपालिकाको समग्र विकासमा समेत योगदान पु¥याउने बताउनु भएको थियो । सोही अवसरमा वडामा विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेमा उत्कृष्ट नतिजा हासिल गर्ने शिक्षक तथा विद्यार्थी, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, उत्कृष्ट किसान, सेवा निवृत्त कर्मचारी, ८० वर्ष माथिका ज्येष्ठ नागरिक तथा जग्गादाता रहनु भएको छ । वडाध्यक्ष कमल केसीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, विभिन्न सघंसंस्थाका प्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।

प्रतियोगिताको अवसरमा विभिन्न साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।