पाँच वर्षपछि गुल्मी अस्पतालको नवनिर्मित भवनमा गृह प्रवेश

admin

२०८३ मंसिर ७ गते, आईतवार १८:४९ मा प्रकाशित

गुल्मी, ६ मंसिर । निर्माण सुरु भएको पाँच वर्षपछि गुल्मी अस्पतालको नवनिर्मित भवनमा आज गृह प्रवेश गरिएको छ । जिल्ला सदरमुकाम तम्घासमा निर्माण गरिएको ५० शैयाको सुविधा सम्पन्न भवनमा गृह प्रवेश भएसँगै लामो समयदेखि पुरानो संरचनाबाट स्वास्थ्य सेवा प्रवाह गर्दै आएकामा अबदेखि सेवा विस्तारमा सहज पुग्ने भएको छ ।

अस्पतालमा नयाँ भवनको अभावमा बिरामीको चाप व्यवस्थापन, उपचार कक्षको व्यवस्था तथा स्वास्थ्य सेवा विस्तारमा समस्या हुँदै आएको थियो । अस्तपालमा पर्याप्त मात्रमा उपचार कक्ष नहुँदा एउटै कोठाबाट धेरै बिरामीको स्वास्थ्य परीक्षण गर्नुपर्ने बाध्यता थियो ।

अस्पताल विकास समितिका अध्यक्ष राजेन्द्र पाण्डेका अनुसार अस्पताल ५० शैयामा स्तरोन्नति भए पनि भौतिक पूर्वाधार अभावका कारण पुरानै संरचनाबाट सेवा दिनुपर्दा सेवाग्राही र स्वास्थ्यकर्मी दुवैले कठिनाइ भोग्दै आएका थिए । नयाँ भवनमा सरेपछि अस्पतालको सेवा प्रवाह व्यवस्थित हुनुका साथै थप सेवा विस्तारको लागि सहजता पुग्ने उहाँले बताउनुभयो ।

नयाँ भवनबाट प्रशासनिक, ओपीडी र आकस्मिक लगायतका सेवा यही मङ्सिर भित्र सञ्चालन गर्ने तयारी गरिएको अस्पतालका निमित्त प्रमुख डा विभव बस्यालले जानकारी दिनुभयो । भवन अभावकै कारण सघन उपचार कक्ष (आइसियु) सञ्चालन तथा मिर्गौलाका बिरामीका लागि डायलाइसिस सेवा विस्तार गर्न समस्या भइरहेको उहाँले बतउानुभयो ।

नयाँ भवन सञ्चालनमा आएपछि बिरामीलाई उपचारका लागि प्रतीक्षा गर्नुपर्ने समय घट्ने र चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पनि सहज वातावरणमा सेवा प्रवाह गर्न मद्दत पुग्ने विश्वास गरिएको छ । अस्पतालमा सेवा लिन आउने बिरामीका लागि बस्ने ठाउँ समेत अभाव हुँदै आएको अवस्थामा नयाँ संरचनाले बिरामीको सेवा प्रवाहमा सुधार ल्याउने बताईएको छ ।

अस्पताल भवन निर्माणका लागि २०७८ असार १८ गते स्वच्छन्द–बानियाँ जेभी, मकवानपुरले जिम्मेवारी पाएको थियो । भ्याट बाहेक रु २५ करोड ९४ लाख लागतमा निर्माण गरिएको उक्त भवन भूकम्प प्रतिरोधी तथा पाँच तलाको रहेको छ । निर्माण कम्पनीले सम्झौता अनुसार २०८० असार १७ गतेभित्र काम सम्पन्न गर्नुपर्ने भए पनि निर्धारित समयमा निर्माण पूरा हुन सकेन । चार पटक म्याद थप भएपछि मात्रै भवन निर्माणको काम सम्पन्न भएको हो ।

सघन सहरी तथा भवन निर्माण आयोजना पाल्पाको सहयोग र प्राविधिक निगरानीमा उक्त भवन निर्माण गरिएको हो । लामो समयसम्म निर्माणमा भएको ढिलाइले अस्पतालको सेवा प्रवाह र नयाँ सेवा विस्तारको योजना प्रभावित भएको थियो । भवनको मुख्य निर्माण कार्य सम्पन्न भए पनि पार्किङ, कम्पाउण्ड वाल, र्याम्प र गेट निर्माण लगायतका केही बाहिरी काम बाँकी रहेको आयोजनाका इन्जिनियर घनश्याम यादवले बताउनुभयो ।

नवनिर्मित भवनमा गृह प्रवेश गरिए पनि भवनको औपचारिक हस्तान्तरण हुन भने बाँकी छ । बाँकी रहेका बाहिरी संरचनाको काम पूरा भएपछि भवन हस्तान्तरणको प्रक्रिया अघि बढाइने अस्पताल विकास समितिले जनाएको छ ।

लामो समयको प्रतीक्षापछि भवन निर्माण सम्पन्न भई गृह प्रवेश गर्न पाउँदा खुसी लागेको रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताउनुभयो । उहाँले बाँकी रहेका निर्माण कार्य शीघ्र सम्पन्न गरी भवनलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउनु पर्नेमा जोड दिनुभयो । जिल्ला समन्वय समितिका प्रमुख द्रोर्ण खत्रीले नयाँ भवन निर्माणले गुल्मीको स्वास्थ्य सेवा पूर्वाधारमा महत्वपूर्ण उपलब्धि थपिएको बताउनुभयो ।

गुल्मी अस्पतालमा दैनिक औसत दुई सय ५० जना बिरामीहरुले सेवा लिँदै आईरहेका छन् । यस अस्पतालमा गुल्मीका अतिरिक्त अर्घाखाँची, बाग्लुङ् र प्यूठान जिल्लाका बिरामीहरुले समेत सेवा लिदै आईरहेका छन् ।