२१ कार्तिक २०८१, बुधबार
सेयर बजारमा सामान्य सुधार, कारोबार रकम भने घट्यो
सेयर बजारमा आज सामान्य अंकले सुधार आएको छ। अघिल्लो कारोबार दिन आइतबार ३३.२० अंकले घटेर १९७१.१० विन्दुमा झरेको बजार आज ५.१९ अंकले बढेको हो। यसदिन २८६ कम्पनीको सेयर ५७ लाख ७६ हजार ८९६ कित्ता सेयर १ अर्ब ७३ करोड ७३ लाख १४ हजार ९२ रुपैयाँमा खरिदबिक्री भयो।
आइतबार १ अर्ब ८३ करोड ४ लाख बराबरको सेयर खरिदबिक्री भएको थियो।
आज सामान्य अंकले बढेको सेयर बजारमा २ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सीवाईसी नेपाल लघुवित्त वित्तीय र सयपत्री हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो।
२१ करोड ६८ लाख मूल्य बराबरको सेयर कारोबार गरी एनआईसी एसिया बैंक शीर्षस्थानमा रह्यो। यसैगरी सिटीजन लाइफ इन्स्योरेन्सको १२ करोड र सोल्टी होटलको ८ करोड मूल्य बढीको सेयर कारोबार भयो।
कारोबारमा आएका १३ उपसमूहमध्ये ११ को मूल्य बढ्यो भने २ को घट्यो।