बाढी–पहिरो प्रभावितका लागि साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ६५ लाख सहयोग

admin

२०८३ भाद्र १५ गते, सोमबार १५:२२ मा प्रकाशित

बुटवल । देशका विभिन्न जिल्लामा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि साइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले ६५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।

बैंकले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पछिल्लो समय रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकसहित रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायत जिल्लामा प्राकृतिक विपत्तिका कारण मानवीय तथा भौतिक क्षति भएको भन्दै सहयोग गर्ने निर्णय गरेको हो।

घोषित ६५ लाख रुपैयाँमध्ये ५५ लाख रुपैयाँ बैंकको तर्फबाट प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उपलब्ध गराइनेछ भने बैंकका कर्मचारीहरूको तर्फबाट १० लाख रुपैयाँ सहयोग गरिने बैंकले जनाएको छ।

बैंकले विपत्तिको कठिन समयमा प्रभावित नागरिकको साथमा रहँदै उद्धार, राहत, स्वास्थ्य, आवास तथा पुनःस्थापनाका कार्यमा सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ। साथै सरकार तथा सम्बन्धित निकायलाई राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउन सबै सरोकारवालालाई आग्रह गरेको छ।

प्रेस विज्ञप्तिमा बैंकले बाढीमा परी दिवंगत भएका नागरिकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै सम्पर्कमा नआएका नागरिकको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको यो सहयोगले विपत्तिमा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा केही भए पनि सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। बैंकको आधिकारिक वेबसाइटमा पनि बैंकको सामाजिक उत्तरदायित्व (CSR) सम्बन्धी व्यवस्था उल्लेख गरिएको छ।