पाँचौँ गुल्मी महोत्सवमा आन्तरिक राजस्वको अनुगमन, कर कानुनअनुसार कारोबार गर्न निर्देशन

admin

२०८३ बैशाख १३ गते, आईतवार २१:१७ मा प्रकाशित

गुल्मी, — आन्तरिक राजस्व कार्यालय बुटवलले गुल्मी जिल्लामा सञ्चालन भइरहेको पाँचौँ गुल्मी महोत्सवको अनुगमन तथा निरीक्षण गरेको छ। कर अधिकृत चिरञ्जीवी बस्यालको नेतृत्वमा आएको टोलीले महोत्सवस्थलमा रहेका विभिन्न स्टलहरू, बाल उद्यान तथा टिकट बिक्री प्रणालीको समेत सूक्ष्म रूपमा निरीक्षण गरेको हो।

निरीक्षणका क्रममा महोत्सव आयोजकले अस्थायी प्यान नम्बर लिएर मूल्य अभिवृद्धि कर (VAT) मा दर्ता भई विधिवत रूपमा कारोबार सञ्चालन गरिरहेको पाइएको कर अधिकृत बस्यालले जानकारी दिनुभयो। उहाँका अनुसार सम्पूर्ण आर्थिक गतिविधि नेपाल सरकारको कर कानुनअनुसार सञ्चालन गर्न निर्देशन समेत दिइएको छ।

त्यसैगरी, आयोजक पक्षले आवश्यक धरौटी रकम समेत जम्मा गरिसकेको र कारोबारलाई पारदर्शी तथा व्यवस्थित बनाउने काम भइरहेको जनाएको छ। गुल्मी उद्योग वाणिज्य सङ्घका अध्यक्ष मृगेन्द्र प्रसाद श्रेष्ठले महोत्सव सम्पन्न भएपछि पूर्ण अडिट गरी हाल प्रयोगमा रहेको अस्थायी प्यान बन्द गरिने बताउनुभयो।

यसैबीच, कर कार्यालयको टोलीले गुल्मी जिल्लाका अन्य व्यापारिक क्षेत्रहरूमा समेत अनुगमन जारी राखेको छ। साथै, स्थानीय तहमा कर सेवा विस्तार गर्ने उद्देश्यसहित टोली मालिका गाउँपालिकामा पुगेको छ। त्यहाँ प्यान दर्ता लगायतका कर सम्बन्धी सेवाहरू स्थानीय स्तरमै उपलब्ध गराउने योजना अनुसार कार्य शुभारम्भको तयारी गरिएको जनाइएको छ।

महोत्सवको अनुगमनले कर प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र कानुनसम्मत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।