२४ आश्विन २०८१, बिहीबार
५० करोड माथी पूँजी भएको सहकारीको नियमन राष्ट्र बैंकले गर्ने
काठ्माण्डौ अशोज २४,
५० करोड रूपैयाँभन्दा धेरै सेयर पुँजी भएको र सोही रकम बराबरको कारोबार गर्ने सहकारीहरूको नियमन अब राष्ट्र बैंकले समेत गर्ने भएको छ। सहकारी विभागको अनुरोधमा यस्तो नियम लागु भएको हो ।
संसदमा दर्ता भएको विधेयकमा भने २५ करोड रूपैयाँभन्दा बढीको सेयर पुँजी वा ५० करोड रूपैयाँभन्दा बढीको काराबोर गर्ने सहकारीहरूको नियमन राष्ट्र बैंकले समेत गर्ने उल्लेख थियो। सहकारी संस्थाको वित्तीय सुशासन र जोखिमको आधारमा राष्ट्र बैंकले यस्तो नियमन, निरीक्षण र सुपरीवेक्षण गर्न सक्ने व्यवस्था थियो।
संसदमा सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक अन्तरगत सहकारी ऐन २०७४ पनि संशोधनको क्रममा छ।
सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा बनेको उपसमितिले छलफलपछि थप छलफलको लागि कानुन, न्याय तथा मानव अधिकार समितिमा पेश गरेको हो।
कानुन, न्याय तथा मानव अधिकार समितिको बुधबार बसेको बैठकले ५० करोड रूपैयाँभन्दा धेरै सेयर पुँजी भएको र सोही रकम बराबरको कारोबार गर्ने सहकारी संस्थाको वित्तीय सुशासन तथा जोखिमको आधारमा विभागको अनुरोधमा राष्ट्र बैंकले यस्तो नियमन, निरीक्षण र सुपरीवेक्षण गर्न सक्ने व्यवस्था गर्ने गरी संशोधन गरेको छ।
समितिको बुधबार बसेको बैठकले सहकारी ऐन संशोधनको क्रममा सहकारीका बचतकर्तालाई तोकिएको व्यक्तिगत बचतको सीमासम्बन्धी व्यवस्था समेत हटाइएको छ।