गुल्मीमा पालिका स्तरीय प्रथम भलिवल कपको उपाधी सत्यवतीलाई  

admin

२०८० कार्तिक १९ गते, आईतवार १५:०५ मा प्रकाशित

 

गुल्मी, कात्तिक १९ । गुल्मीमा पालिकास्तरी प्रथम भलिबल कप २०८० को उपाधि सत्यवती गाउँपालिकाले हात पारेको छ । महिला तथा पुरुष तर्फका दुवै खेलमा सत्यवतीले प्रथम स्थान हासिल गरि उपाधि हात पारेकोे हो ।

सत्यवतीले कालिगण्डकी गाउँपालिकालाई सून्यका बिरुद्ध तीन सेटको अग्रता सहित प्रथम भएको थियो । पुरुषतर्फ प्रथम बनेको सत्यवतीले ७७ हजार ७ सय ७७ रुपैंया प्राप्त गरेको छ । त्यसैगरि दोश्रो स्थान हासिलगरि उपबिजेता बनेको कालिगण्डकी गाउँपालिकाले ५५ हजार ५ सय ५५ रुपैंया प्राप्त गरेको छ भने चन्द्रकोट गाउँपालिकाले तृतीय स्थान हासिल गरि ३३ हजार ३ सय ३३ रुपैंया प्राप्त गरेको छ ।

महिला तर्फको खेलमा पनि सत्यवती गाउँपालिकाले कालीगण्डकी गाउँपालिकालाई पराजित गरि उपाधि हात पारेकोे छ । सत्यवतीले कालीगण्डकीलाई एकका विरुद्ध दुई सेटको अन्तरले पराजित गर्दै ३५ हजार राशिको प्रथम पुरस्कार प्राप्त गरेको छ । उक्त खेलमा कालीगण्डकी दोश्रो र गुल्मीदरबार गाउँपालिका तेश्रो बनेका छन । यसरी पुरुष र महिलातर्फको दुवै उपाधि सत्यवतीको पोल्टामा परेको हो ।

पुरुष र महिला दुवैतर्फ प्रथम र द्वितीय हुने खेलाडीलाई कप, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ भने तृतीय र सान्त्वना हुनेलाई मेडल र प्रमाण पत्र प्रदान गरिएको जिल्ला भलिबल संघ गुल्मीमा महासचिव नारायण आचार्यले जानकारी दिनुभएको छ ।

सोही अवशरमा जिल्ला भलिवल संघले भलिवल खेलको विकासमा योगदान गरेका अग्रज खेलाडीहरु छवि खरेल, नवराज श्रेष्ठ, कृष्ण थापा, हरिप्रसाद पाण्डेय, बालसिंह काउछा, गोविन्द कुवँर र सुर्य बहादुर मिदुनलाई सम्मान गरेको छ । त्यसैगरि नवौ राष्ट्रिय लुम्बिनी प्रदेश स्तरीय भलिवल खेलमा प्रथम हुने दिपेन्द्र श्रेष्ठ, हेमन राना, मौसम कुवँर, कमल श्रेष्ठ, चिरन्जीवि खड्का, बिनोद विक, वविन थापा, डोल बहादुर थापा, राजन विक, विश्वास सुनार र कोच मनोज गुरुङ्गलाई पनि संघले सम्मान गरेको छ ।

जिल्ला भलिवल संघ गुल्मीका अध्यक्ष राजन कुवँरले जिल्लामा भलिवल खेलको ईतिहासलार्ई जीवन्त राख्न र राष्ट्रिय खेलाडी उत्पादन गर्नका लागि प्रतियोगीता आयोजना गरिएको बताउनु भयो । उहाँले प्रतियोगिताको माध्यमबाट नयाँ प्रतिभावान खेलाडीहरुले अवशर पाउने समेत बताउनु भएको छ । जिल्ला भलिवल संघ गुल्मीले सदरमुकाम तम्घासमा कात्तिक १५ देखि पालिका स्तरीय प्रथम भलिवल कप सञ्चालन गरेको थियो ।