२४ आश्विन २०८१, बिहीबार
स्तन क्यान्सर जाँच, सचेनता कार्यक्रमको आयोजना
जनार्दन घिमिरे
गुल्मी, पुस २२। पछिल्लो समयमा लाज र डरका कारण रोग लुकाउने प्रचलन महिलाहरुमा बढी देखिन्छ । यसै विषयमा सचेतना जगाउने उद्देश्यले गुल्मीमा निशुल्क रुपमा स्तन क्यान्सर जाँच सचेनता कार्यक्रमको आयोजना गरिएको छ । डिल्लीमाया मेमोरियल ब्रेस्ट क्यान्सर फाउण्डेसन तथा रोटरी क्लब अफ रेसुङ्गा गुल्मीको संयोजनमा जिल्लामा पहिलो पटक स्तन क्यान्सरको जाँच तथा अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो ।
क्यान्सरलाई निकै ठूलो डर लाग्दो रोगको रुपमा बुझेका नागरिकहरुलाई समयमै यस रोगको बारेमा जानकारी हुन सकेकमा क्यान्सरबाट बच्न सकिन्छ र यो रोग लागिहाले पनि निको हुन्छ भन्ने कुराको समुदायस्तरमा जानकारी गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको रोटरी क्लब अफ रेसुङ्गाका उपाध्यक्ष गुणानिधि पाण्डेले जानकारी दिनुभयो ।
कार्यक्रममा डिल्लीमाया मेमोरियल ब्रेस्ट क्यान्सर फाउण्डेसनका संस्थापक अध्यक्ष एवं बिशेषज्ञ डाक्टर सञ्जय पाण्डेले स्तन क्यान्सरको बर्तमान अबस्था, सम्भावित कारणहरु, लक्षण तथा चिन्ह र हुनसक्ने जोखिमको विषयमा जानकारी गराउनु भएको थियो । उहाँले स्तन क्यान्सरको उपचार उपलब्ध भए पनि मानिसहरु समयमै उपचार केन्द्रसम्म नजानु, रोगलाई लुकाएर राख्नु, स्तनमा गिर्खा देखिए पनि सामान्य हो भनेर हेलचक्राई गर्नु जस्ता मुख्य समस्या रहेको बताउनु भयो ।
कार्यक्रममा रेसुङ्गा नगरपालिकाकी उपप्रमुख अमृतादेवी कुँवरले जनचेतनाको अभावका कारण हाम्रो समाजमा स्तन क्यान्सर भएका मानिसहरु अझै पनि लुकेर रहेको बताउनु भयो । उहाँले यो रोगको बारेमा समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको बताउनु भयो ।
समाजमा लाज र डरका कारण खुलेर आफ्नो कुरा राख्न नसकेको कारण पनि स्तन क्यानसर समयमै पहिचान गर्न नसकिएको बताईएको छ । समयमै यसको पहिचान हुन सकेमा यसबाट हुने मृत्युलाई न्यून गर्न सकिने बताईएको छ । एक दिने निशुल्क शिविरमा एक सय ५० भन्दा धेरै महिलाहरुले स्तन क्यान्सरको जाँच गराएका थिए ।