२४ आश्विन २०८१, बिहीबार
गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजद्वारा निशुल्क स्वास्थ्य शिविर सञ्चालन
जनार्दन घिमिरे
गुल्मी, चैत २९ । गुल्मीको गुल्मीदरबार गाउँपालिकामा एकदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको आयोजना, गुल्मीदरबार गाउँपालिकाको समन्वय र साझा हस्पिटल प्रालिको प्राविधिक सहयोगमा चारपाला दरबारमा बिहिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
बिशेषज्ञ डाक्टरहरुको उपस्थितीमा गुल्मी चालपाला रुपन्देही सम्पर्क समाजले गाउँमै स्वास्थ्य शिविर संचालन गरेको हो । निःशुल्क शिविरमा महिलारोग बिशेषज्ञ सेवा, हाडजोर्नी तथा नशारोग बिशेषज्ञ सेवा, फेमिली फिजिसियन सेवा, सुगर परीक्षण लगायत बिरामीहरुलाई निःशुल्क रुपमा औषधी समेत वितरण गरिएको गुल्मी चालपाला रुपन्देही सम्पर्क समाजकी अध्यक्ष उषा खत्रीले जानकारी दिनु भएको छ ।
२०७५ मा स्थापना भएपछि सामाजिक सेवाको क्षेत्रमा लगातार काम गरिरहेको संस्थाले यस पटक गाउँमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो । शिविरबाट तीन सय बढीले सेवा लिएका थिए । ग्रामीण भेगमा सामान्य स्वास्थ्य समस्याको पनि उपचार हुन नसकेको सन्दर्भमा बिशेषज्ञ डाक्टरबाट उपचार हुनु खुसीको कुरा भएको स्थानीय बिष्णुराज गिरीले बताउनु भयो ।
‘आर्थिक समस्या हुँदा रोग लुकाउनुपर्ने बाध्यता गाउँमा छ’ गिरीले भन्नु भयो, “निःशुल्क रुपमा बिशेषज्ञ डाक्टरबाट सेवा पाउनु भाग्यको कुरा हो ।” त्यस्तै अर्का बिरामी सितादेवी सुनारले गाउँमै सेवा पाउँदा तम्घास बुटवल जानुपर्ने खर्च जोगिएको बताउनु भयो । गाउँमै डाक्टर आएर उपचार उपचार गर्न पाएको भन्दै बिरामीहरुले गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजलाई धन्यवाद ब्यक्त गरेका छन् ।
निःशुल्क बृहत स्वास्थ्य परीक्षण शिविरमा चारपाला स्थायी घर भई हाल गुल्मी तम्घासमा बसोवास गर्दै आउनु भएका कर्णबहादुर रायमाझीले ५० हजार आर्थिक सयोग गर्नु भएको थियो । त्यसैगरि चारपालाका लेखराज ज्ञवाली हाल युके निवासीवाट ११ हजार, खिमप्रसाद अर्याल हाल रुपन्देहीबाटे १० हजार र स्वर्गाीय प्रेमबहादुर खत्रीको स्मृतिमा छोरा बिरबहादुर खत्रीले ११ हजार लगायत अन्य व्यक्तिहरुले पनि आर्थिक सहयोग उपलब्ध गराउनु भएको थियो । औपचारिक कार्यक्रममा सहयोगीलाई सम्मानपत्रद्धारा सम्मान गरिएको थियो ।
शिविरको उद्धघाटन गर्दै प्रमुख अतिथि गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले गुल्मी चालपाला रुपन्देही सम्पर्क समाजले गर्दै आएका सामाजिक कामको खुलेर प्रशंसा गर्नु भएको थियो । उहाँले स्वास्थ्य र शिक्षाको क्षेत्रमा समाजले गरेको कामलाई निरन्तरता दिन आग्रह गर्दै निःशुल्क स्वास्थ्य शिविरले ग्रामीण भेगका थुप्रै नागरिक लाभान्वित भएकोमा खुसी ब्यक्त गर्दै समाजलाई धन्यावाद व्यक्त गर्नु भएको थियो ।
शिविरमा डा.प्रदीप कुमार श्रीवास्तव, डा.लक्ष्मण शर्मा, डा.जिवन थापा, डा.संगीता पाण्डे, शिविरमा डा.प्रवेश्वर घिमिरे, डा.कृष्ण खनाल, डा.नियम मुसलमान र डा.विकास अर्यालको उपस्थितीमा बिरामीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । सोही कार्यक्रममा समाजको तर्फवाट क्यान्सर र क्षय रोगी पीडित परिवारलाई रु दशदश हजार आर्थिक सहयोग रकम समेत हस्तान्तरण गरिएको थियो ।