दोश्रो रनिङ् शिल्ड हाजिरी जवाफ प्रतियोगिताको उपाधि ठूला पोखरा माविलाई

admin

२०८१ जेष्ठ २७ गते, आईतवार २१:२० मा प्रकाशित

गुल्मी, २७ जेठ । गुल्मीको गुल्मीदरबार गाउँपालिकामा सम्पन्न दोश्रो रनिङ् शिल्ड अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिताको उपाधि ठूला पोखरा माध्यमिक विद्यालयले हात पारेको छ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको आयोजना र मीरा कोषको व्यबस्थापकीय सहयोगमा आइतबार गुल्मीदरबारको वडा नं ५ स्थीत अमर अर्बाथोकमा उक्त प्रतियोगिता सञ्चालन गरिएको थियो ।

हाजिरीजवाफ प्रतियोगितामा ईस्वरी माध्यमिक विद्यालय दोश्रो, शारदा माध्यमिक विद्यालय तेश्रो र गंगा आधारभुत विद्यालय सान्त्वना बनेका थिए । प्रतियोगितामा प्रमथ हुने विद्यालयलाई नगद रु नौहजार नगद सहित रनिङ् शिल्ड र प्रमाण प्रदान गरिएको थियो भने दोश्रो, तेश्रो र सान्त्वना हुने विद्यालयलाई क्रमश छ हजार, तीन हजार र पन्ध्रसय नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय ईकाइ गुल्मीका प्रमुख लोकनाथ मरासिनीले विद्यार्थीहरुलाई सम्मान गर्दै विद्यार्थीहरुको बौद्धिक विकास र उनीहरुलाई थप उत्प्रेरणा जगाउनका लागि यस्ता प्रकारका कार्यक्रमहरु निकै प्रभावकारी हुने भन्दै हाजिरीजवाफ एक प्रकारको बौद्धिक खेल प्रतियोगिता भएको बताउनु भयो ।

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजकी अध्यक्ष उषा खत्रीले समाजको तर्फवाट शिक्षाको क्षेत्रमा विद्यार्थीहरुलाई थप जागरुक र क्रियाशिल बनाई उनीहरुको बौद्धिक विकासका लागि रनिङ् शिल्ड अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरिएको बताउनु भयो ।

कार्यक्रममा गुल्मीदरबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थी, वडाध्यक्षहरु मुकेस थापा, गुणानिधि पौडेल, शिक्षा शाखा प्रमुख खिमबहादुर थापा, प्रधानाध्यापकहरु हरिबहादुर कार्कि, जिवलाल पौडेल, मिराकोषका अध्यक्ष हेमलाल भुसाल, पत्रकार महासंघ गुल्मीका पुर्व अध्यक्ष जनार्दन घिमिरे लगायतले कार्यक्रमको महत्वमाथि प्रकास पार्नु भएको थियो ।

मिराकोषका संयोजक कुलराज भुसालको स्वागत र समाजकी सहसचिव सविना टण्डनको सञ्चालन रहेको उक्त कार्यक्रममा विभिन्न विद्यालयका छात्रहरुद्वारा गीत तथा नृत्य समेत प्रस्तुत गरिएको थियो । चार वटा विद्यालयका १६ जना विद्यार्थीहरुको सहभागिता रहेको उक्त अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिताको मिराकोषका महासचिव रामचन्द्र भुसालले सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा समाजको तर्फवाट विपन्न परिवारका चार जना विद्यार्थी र क्यानसर पीडित बिरामीलाई समेत आर्थिक सहयोग उपलब्ध गराईएको संस्थाकि अध्यक्ष उषा खत्रीले बताउनु भएको छ ।