एमाले धुलोमा पछारिए पनि टकटकाएर उठ्छ ः उपमहासचिव ज्ञवाली

admin

२०८१ जेष्ठ २९ गते, मंगलवार १९:३४ मा प्रकाशित

 

गुल्मी, २९ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमालेको जीवनमा प्रतिस्पर्धा, चुनाव र आन्तिरिक लोकतन्त्र जीवनका अभिन्न अङ्ग भएको बताउनु भएको छ । उहाँले आजको परिस्थीति भित्र युगले, राष्ट्रले र पार्टी पङ्तिले पार्टीमा आन्तरिक एकता र सहमतीको माग गरिरहेको बताउनु भयो ।

आज नेकपा एमाले गुल्मीको १२ औं जिल्ला अबिधेशन उट्घाटन कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले नेकपा एमाले सरकारमा हुँदा र नहुँदा पनि सधै जनताका समस्या समाधान गर्ने पार्टी भएको बताउनु भयो । उहाँले एमाले सिँगो समाजमा उन्नत लोकतन्त्रका लागि पक्षपोषण गर्ने पार्टी भएको बताउनु भयो । “आज मुलुकमा हामी जस्तो परिस्थिति भित्र बाँचिरहेका छौं, त्यसमा धेरै तरङ्गित हुनुपर्ने कुनै पनि कारण छैन” उहाँले भन्नु भयो ।

नेता ज्ञवालीले कतिपय कुराहरु तत्कालिन सन्र्दभ, तत्कालिन परिस्थीति र त्यतिबेलाको आवश्यकताले तय गर्ने भन्दै एउटै कुरा सधैभरी निरपेक्ष ढङ्गले सत्य हुन नसक्ने बताउनु भयो । गएको तीन वर्ष यता एमालेलाई एकदमै पुछारमा पारिएको अबस्था उत्पन्न भएको र त्यो पुछारको अबस्थावाट एमालेले बाउन्स ब्याक गरेको उहाँको तर्क थियो । “एमाले यति ज्याद्रो छ कि धुलोमा पछारिए पनि टकटकाएर उठ्छ, खडेरीमा सुके पनि फेरी दुबो जस्तै भएर हराभरा भएर पलाउछ”, उहाँले भन्नु भयो ।

उहाँले भर्खर सोह्र टेक्दै गरेका अभिमन्यूलाई सातसात जना सेनापतिहरुले घेरेर चक्रब्यूहमा सिध्याय जस्तै प्रति पक्षमा रहेको पार्टीलाई छ छ दलहरु मिलेर घेराबन्दी गर्दा पनि एमाले ठूलो चक्रब्यूलाई तोडेर अघि बढेको बताउनु भयो । नेकपा एमालेलाई आफ्नो पार्टी पङ्तिमा सुद्धतामाथि पुर्ण विश्वास रहेको भन्दै उहाँले मुलुकको संवृद्धि र विकासका लागि एमाले सधै लागि परेको बताउनु भयो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सचिब गोकर्ण बिष्ट, पद्यमा अर्याल लगायतका केन्द्रीय नेताहरुले अधिबेशनको पुर्ण सफलताको कामना गर्दै सर्वसम्मत रुपमा नेतृत्व चयनमा जोड दिनुभएको थियो । अधिबेशनले आगामी कार्यकालका लागि बुधबार नयाँ नेतृत्व चयन गर्ने बताईएको छ ।