कृषकको आम्दानी बृद्धि गर्न छत्रकोटमा बाख्रा पालन कार्यक्रम 

admin

२०८१ श्रावण ५ गते, शनिबार १०:०५ मा प्रकाशित

 

गुल्मी, ५ साउन । भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गुल्मीले बालीबस्तु विशेष सघन ब्यावसायीक उत्पादन क्षेत्र बिकास कार्यक्रम अन्तरगत जिल्लाको छत्रकोट गाउँपालिकामा बाख्रा पालन कार्यक्रमलाई बिशेष प्राथमिकता दिएको छ ।

आर्थिक आर्थिक वर्ष २०८०÷८१ मा लुम्बिनी प्रदेश सरकार, कृषि तथा भूमि ब्यवस्था मन्त्रालयबाट भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गुल्मी मार्फत छत्रकोट गाउँपालिकामा उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको हो । जिल्लामा पशुपालन ब्यावसाय तर्फ यसको प्रवद्र्धन र ब्यावसायिक उत्पादन गरि कृषकहरुको आयस्तरमा वृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालनमा ल्याईएको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गुल्मीका प्रमुख हुमकान्त पाण्डेयले बताउनु भयो ।

सोही कार्यक्तम अन्तरगत जिल्लाको छत्रकोट गाउँपालिसाका ५ बरडाँडामा बाख्रा पालन कार्यक्रम लागु गरिएको हो । उक्त कार्यक्रमको लागि २५ लाख रुपैंया बजेट बिनियोजन गरि कृषकहरुलाई बाख्रा पालनको लागि खोर निर्माणदेखि बीउ बाख्रा समेत उपलब्ध गराईएको छ । छत्रकोट गाउँपालिका ‐५ बरडाँडा स्थित लाखुरी रुख पशुपन्छी पालन समुह मार्फत बाख्रा पालन कार्यक्रम शुरु गरिएको हो ।

कार्यालयले भौतिक पूर्वाधार र मेसिनरी औजार खरिदमा ७५ प्रतिशत अनुदान सहयोग गरेको जनाएको छ । कार्यक्रममा नश्ल सुधार, पोषण आहार, क्षमता बिकास र पशु स्वास्थ्य उपचार लगायतको कामका लागि सतप्रतिशत अनुदान सहयोग गरिएको विज्ञ केन्द्रका प्रमुख पाण्डेयले जानकारी गराउनु भयो ।

समुह मार्फत २४ वटा नयाँ बाख्राको खोर निर्माण, २ वटा प्रजननको लागि उन्नत बोका खरिद, ६ वटा च्यापकटर खरिद तथा ढुवानी, ६ वटा कम्बाइन मिल खरिद तथा ढुवानी, घासँको बिउ तथा चार हजार सेट बेर्ना समेत खरिद गरिएको छ । त्यसैगरी औषधी खरिद तथा बाख्रापालन सम्बन्धि कृषकहरुलाई एक दिने तालिम उपलत्तध गराईएको छ । उक्त समुहमा हाल तीन सय ६० वटा बाख्रा रहेका छन । कार्यक्रमबाट बरडाँडामा ४० घर परिवार लाभान्वित भएका छन् ।

समुह मार्फत बार्षिक रुपमा कम्तिमा पनि एक सय खसीबोका बिक्रि गरी कृषकहरुको आम्दानी बढाउने लक्ष्य राखिएको केन्द्रले जनाएको छ । कार्यक्रमले समुहमा आवद्ध किसानहरु खुसी भएका छन् । कृषकहरुले आगामी दिनमा थप कार्यक्रमको माग गर्दै विद्युतको समस्याका कारण चाँपकटर मेसिन चलाउन समस्या परेको लाखुरी रुख पशुपन्छी पालन समुहकी उपाध्यक्ष शान्ता बुचाले बताउनु भयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्णबहादुर खत्री र छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले कृषकको विद्युत समस्या तत्काल सम्बोधन गर्ने प्रतिवद्धता जनाउँदै पशुपालनलाई व्यावसायीक रुपमा अघि बढाउँदै लैजानु पर्नेमा जोड दिनु भएको थियो ।