२३ भाद्र २०८१, आईतवार
गुल्मीमा माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिता शुरु
गुल्मी, १२ भदौ । गुल्मीको सदरमुकाम तम्घासमा आजदेखि माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिता सुरु भएको छ । पुलचोक स्पोर्ट्स क्लवको आयोजनामा बुधबारदेखि तम्घासको चिदिचौर खेल मैदानमा उक्त छात्रा फुटबल खेल सञ्चालन भएको हो ।
क्लवको वार्षिकोत्सवको अवसरमा पाँचौं पुलचोक कप–२०८१ अन्तर्गत बुधबार भएको पहिलो खेल लिटिल स्टार इङ्लिश बोर्डिङ् स्कुल र रेन्बो इङ्लिश बोर्डिङ् स्कुल बीच भएको थियो । उक्त खेलमा लिटिल स्टार इङ्लिश बोर्डिङ् स्कुलले रेन्बो इङ्लिश बोर्डिङ्लाई दुइका बिरुद्ध चार गोल गरेको थियो । त्यसैगरी पहिलो दिन भएको दोश्रो खेल पालुखा मावि हस्तिचौर र जनसहयोग मावि भुबनपानी बिच भएको थियो । उक्त खेलमा जनसहयोग माविले पालुखा माविलाई सुन्यका बिरुद्ध चार गोल गरेको थियो ।
प्रतियोगिताको उद्घाटन गर्दै रेसुङ्गा नगरपालिकाकी उपप्रमुख अमृतादेवी कुँवरले महिला खेलाडी उत्पादनका लागि क्लवले महत्वपूर्ण भूमिका खेलेको भन्दै खेलकुदको संरक्षण, संबद्र्धन र विकासका लागि नगरपालिका सधै तत्पर रहेको बताउनु भयोे । उहाँले आगामी दिनहरुमा पनि प्रतियोगितालाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
जिल्लामा महिला खेलाडीको पहिचानसँगै योग्य महिला खेलाडीहरु उत्पादन गर्ने उदेश्यले क्लवले आफ्नो स्थापनाकालदेखि छात्रा फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको क्ल्वका अध्यक्ष सन्तोष न्यौपानेले बताउनुभयो । पुलचोक कप – २०८१ विजेताले ३३ हजार ३३३ रुपैयाँ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र र उपविजेताले २२ हजार २२२ रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । भदौ १५ सम्म सञ्चालन हुने फुटबल प्रतियोगितामा १४ विद्यालयबाट १४ समूहको सहभागीता रहेको छ ।