गुल्मीमा छात्रा फुटबल प्रतियोगिताले विद्यार्थीमा थपियो उत्साह 

admin

२०८१ भाद्र १३ गते, बिहीबार १९:२६ मा प्रकाशित

गुल्मी, १३ भदौ । गुल्मीमा माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबल खेल प्रतियोगिता सुरु भएको छ । पुलचोक स्पोर्ट्स क्लवको आयोजनामा बुधबारदेखि सदरमुकाम तम्घासमा स्थीत चिदिचौर खेल मैदानमा प्रतियोगिता सुरु भएसँगै विद्यालयका शिक्षक शिक्षीकादेखि विद्यार्थी र अभिभावकहरु समेतमा थप उत्साह थपिदै गएको छ ।

 

क्लवको वार्षिकोत्सवको अवसरमा पाँचौं पुलचोक कप–२०८१ अन्तर्गत बिहिबार अर्जुन बोर्डिङ् स्कुल र आदर्श विद्याश्रम, रेसुंगा मावि र उपल्लो तम्घास मावि, सिद्धबाबा मावि र गण्डकी बोर्डिङ स्कुल एवं भाडगाउँ मावि र बिल्रियन्ट बोर्डिङ स्कुल बीच प्रतिस्पर्धा भएको थियो ।

उक्त खेलमा अर्जुन बोर्डिङ् स्कुलले आदर्श विद्याश्रमलाई सुन्यका बिरुद्ध एक गोल, रेसुंगा माविले उपल्लो तम्घास माविलाई सुन्यका बिरुद्ध तीन गोल, सिद्धबाबा माविले गण्डकी बोर्डिङ स्कुललाई चारका बिरुद्ध पाँच गोल र बिल्रियन्ट बोर्डिङ स्कुलले भाडगाउँ माविलाई चारका बिरुद्ध पाँच गोल गरि क्वाटर फाईनलमा पुगेका छन । बिहिबार भएका चारवटै खेलहरु प्रतिस्प्रधात्मक रहेका थिए ।

यस अघि बुधबार लिटिल स्टार इङ्लिश बोर्डिङ् स्कुल र रेन्बो इङ्लिश बोर्डिङ् स्कुल बीच भएको खेलमा लिटिल स्टार इङ्लिश बोर्डिङ् स्कुलले रेन्बो इङ्लिश बोर्डिङ् स्कुललाई दुइका बिरुद्ध चार गोल गरेको थियो । त्यसैगरी पहिलो दिन बुधबार भएको दोश्रो खेल पालुखा मावि हस्तिचौर र जनसहयोग मावि भुबनपानी बिच भएको थियो । उक्त खेलमा जनसहयोग माविले पालुखा माविलाई सुन्यका बिरुद्ध चार गोल गरेको थियो ।

रेसुङ्गा नगरपालिकाकी उपप्रमुख अमृतादेवी कुँवरले महिला खेलाडी उत्पादनका लागि क्लवले महत्वपूर्ण भूमिका खेलेको भन्दै खेलकुदको संरक्षण, संबद्र्धन र विकासका लागि नगरपालिका सधै तत्पर रहेको बताउनु भएको थियो । उहाँले आगामी दिनहरुमा पनि प्रतियोगितालाई यसंगरी निरन्तरता दिन आग्रह गर्नु भएको थियो ।

जिल्लामा महिला खेलाडीको पहिचानसँगै योग्य महिला खेलाडीहरु उत्पादन गर्ने उदेश्यले क्लवले आफ्नो स्थापनाकालदेखि छात्रा फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको क्ल्वका अध्यक्ष सन्तोष न्यौपानेले बताउनु भयो । पुलचोक कप – २०८१ विजेताले ३३ हजार ३३३ रुपैयाँ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र र उपविजेताले २२ हजार २२२ रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । भदौ १५ सम्म सञ्चालन हुने उक्त फुटबल प्रतियोगितामा १४ विद्यालयहरुकोे सहभागीता रहेको छ ।