२४ मंसिर २०८१, सोमबार
इस्मामा ढुङ्गा काट्ने सिप सिकाउँदै घरेलु कार्यालय
गुल्मी, १२ मंसिर । गुल्मीको इस्मा गाउँपालिकामा स्लेट ढुङ्गा सम्बन्धि सिपमूलक तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजनामा इस्मा गाउँपालिका ३ अन्तरगत दर्लामचौरको रामकोटमा उक्त तालिम सञ्चालन गरिएको थियो ।
स्लेट ढुङ्गा सिपमूलक तालिममा सहभागिहरुलाई स्लेट ढुङ्गाको सही प्रयोग त्यसको प्रशोधन र निर्माण प्रक्रियामा दक्ष बनाउने उद्देश्यले उक्त तालिम सञ्चालन गरिएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख राजिब अर्यालले बताउनु भएको छ । उहाँले स्थानीय स्रोतहरूको अधिकतम उपयोग गर्दै स्वरोजगार सिर्जना र दिगो विकासलाई प्रवद्र्धधन गर्न तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भएको थियो ।
कार्यक्रमले सहभागिहरुलाई स्लेट ढुङ्गा काट्ने तरिका, त्यसलाई आकार दिने, उत्पादन, प्रशोधन र सजावट सामग्री तयार गर्दै दक्षता अभिवृद्धि गर्नुका अतिरिक्त व्यावसायिक सीपको ज्ञान प्रदान गरिएको थियो ।
तालिम समापन कार्यक्रममा बोल्दै इस्मा गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्बती कुँवरले सिप बिनाको जीवन सधैभरी अधुरो र अपुरो हुने भन्दै सिपको विकासले मात्र मानिसको जीवन बदलिने बताउनु भएको थियो । उहाँले त्यसका लागि गाउँपालिकाले नागरिकहरुको जीवनस्तरमा सुधार ल्याउन विभिन्न प्रकारका सिपमूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउनु भयो ।
कार्यक्रममा इस्माका पुर्व गाउँपालिकाका अध्यक्ष लक्ष्मण बिष्ट, प्रमुख कोष नियन्त्रक हरिहर शर्मा तिवारी, वडाध्यक्ष ज्योतीराज कुँवर, पुर्व वडाध्यक्ष तोयनाथ सापकोटा लगायतका व्यक्तिहरुले स्लेट ढुङ्गाको सही उपयोग र प्रशोधन मार्फत स्थानीय जनताको जीवनस्तर सुधार गर्न तालिममले महत्वपूर्ण सहयोग पुराउने बताउनु भएको थियो ।
तालिमले ढुङ्गा उद्योगमा युवाहरुलाई स्थानीय स्तरमा रोजगारीका अवसरहरू विस्तार गर्दै परम्परागत रूपमा प्रयोग हुने स्लेट ढुङ्गालाई आधुनिक प्रयोगका लागि अनुकुल बनाईने अपेक्षा गरिएको छ । पन्ध्र दिनसम्म सञ्चालन गरिएको उक्त तालिममा १७ जना व्यक्तिहरुको सहभागिता रहेको थियो ।