गुल्मीको मुसिकोटमा काँग्रेस उमेद्वार विजयी 

admin

२०८१ मंसिर १७ गते, सोमबार ०७:५१ मा प्रकाशित

गुल्मी, १७ मंसिर । गुल्मीको मुसिकोट नगरपालिका–१ मा वडाध्यक्ष पदमा नेपाली काँग्रेसका उमेद्वार आनन्द श्रेष्ठले विजयी हुनुभएको छ । आईतबार सम्पन्न उपनिर्वाचनमा श्रेष्ठले ११ सय ८४ मत प्राप्त गर्नु भएको थियो । उपनिर्वाचनमा श्रेष्ठका प्रतिस्पर्धि नेकपा एमालेका उमेद्वार दल बहादुर थापाले ९३० मत प्राप्त गर्नु भएको थियो ।

त्यसैगरि माओवादी केन्द्रका उमेद्वार दुर्गाबहादुर बिकले १४३ मत प्राप्त गर्नु भएको थियो भने राष्ट्रिय स्वतन्त्र पार्टिका विकास थापाले ४३ र राष्ट्रिय प्रजातन्त्र पार्टिबाट ईस्वरी खातीले ५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

आईतबार सम्पन्न उपनिर्वाचनमा उक्त वडामा ५७.१ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत युवराज गौतमले जानकारी दिनुभयो । मुसिकोट नगरपालिका वडा नं १ मा चार हजार ९१ मतदाता मध्य दुई हजार ३३४ जनाले मतदान गरेका थिए ।

तीन मतदान स्थल एवं पाँच वटा मतदान केन्द्र रहेको उक्त वडामा नेपाल राष्ट्रिय सर्वोदय माविको अमराई मतदान केन्द्रमा एक हजार ९४५, सरस्वती माबी मतदान केन्द्रमा एक हजार २९७ र जनज्योति मावि केन्द्र अरेबामा आठ सय ४९ मत खसेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत रिषीराम घिमिरेले जानकारी दिनु भएको छ ।

वडाध्यक्ष पदको लागि आठ जनाको मनोनयन दर्ता भएको थयो । जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत रिषीराम घिमिरेका अनुसार अध्यक्षमा नेपाली काँग्रेसको तर्फबाट आनन्द श्रेष्ठ, नेकपा एमालेको तर्फबाट दल बहादुर थापा, माओवादी केन्द्रको तर्फबाट दुर्गा बहादुर विक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास थापा र राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट इश्वरी खातीले मनोनयन गर्न भएको थियो ।

त्यस्तै स्वतन्त्र उमेदवारको रुपमा योगेन्द्र खरेल, पुमानन्द खरेल र कुल बहादुर थापाले उमेद्वारी दर्ता गर्नु भएको थियो । मुसिकोट –१ मा तत्कालिन वडाध्यक्ष मोहन घिमिरेको मृत्यु भएपछि उपनिर्वाचन भएको हो । निर्वाचन शान्तिपूर्ण बातावरणमा सम्पन्न भएको थियो ।