२७ माघ २०८१, आईतवार
बक्सिङ खेलाडी स्वर्गीय रानाको स्मृतीमा शालिक निर्माण

गुल्मी, ५ पुस । दक्षिण एसियाली बक्सिङ खेलमा २ स्वर्ण र एक रजत पदक विजेता दल बहादुर रानाको स्मृतीमा शालिक निर्माण गरिएको छ । रेसुङ्गा नगरपालिका–४ सेउघामा रानाको शालिक निर्माण गरिएको हो ।
स्वर्गीय दलबहादुर रानाको सालिकको उद्घघाटन गर्दै रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले गुल्मी लगायत नेपाललाई खेल क्षेत्र मार्फत पहिचान दिलाउने स्वर्गीय रानाको सम्मान र सम्झनामा सालिक निर्माण गरिएको बताउनु भयो । नगर प्रखुख पन्थीले खेलाडीहरु देश तथा बिदेशको गहना भएकाले खेल क्षेत्रको विकासका लागि नगरले थुप्रै सहयोगहरु गर्दै आईरहेको बताउनु भयो ।
नेपाल प्रहरीमा कार्यरत रानाले खेल मार्फत गुल्मी सहित देशकै शिर उच्च बनाउन योगदान गरेकाले वडाबाट आफुहरुको ठूलो पहलमा शालिक सहितको पार्क निर्माण सम्पन्न गरिएको रेसुङ्गा नगरपालिका –४ का वडाध्यक्ष लिलाधर आचार्यले जानकारी दिनुभयो ।
नगरपालिकाले वडा नं ४ मार्फत विनियोजन गरेको करिव साढे दश लाख रुपैयाँको लागतमा पार्क निर्माण गरिएको रेसुङा नगरपालिकाका कार्यक्रम अधिकृत बिनोद मरासिनीले बताउनु भयो । उहाँले दुई बर्षमा सालिक र पार्कको संरचना निर्माण गरिएको बताउनु भयो । कार्यक्रममा पुर्व खेलाडीहरु तथा विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।