मदानेमा प्रथम कंकेदेउराली महोत्सव सुरु

admin

२०८१ पुष ५ गते, शुक्रबार २१:२४ मा प्रकाशित

अनिल खत्री

५ पुस, गुल्मी । गुल्मी जिल्लाको मदाने गाउँपालिकाको कंके देउरालीमा प्रथम कंकेदेउराली कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सवको सुरु भएको छ । आजदेखि सुरु भएको महोत्सव तीन दिनसम्म महोत्सव सञ्चालन हुने मदाने गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवरले बताए ।

मदाने गाउँपालिकाको आयोजना तथा तथा कंकेदेउराली पर्यटन पूर्वाधार विकास समिति मदाने गाउँपालिका–६ पुर्कोटदहको सहआयोजनामा महोत्सव आयोजना गर्न लागिएको हो । तीन दिन सम्म सञ्चालन हुने महोत्सवमा त्यस क्षेत्रमा उत्पादन हुने कृषि उत्पादनलाई प्रमुख प्राथमिकताका साथ प्रर्दशनीमा राखिने अध्यक्ष कुँवरले बताए ।

महोत्सवमा कंके देउरालीलाई पर्यटकीय स्थलका रुपमा परिचित गराउन गाउँपालिकाले बजेट नै विनियोजन गरि महोत्सव सञ्चालन गर्न लागेको हो । कृषकहरुले उत्पादन गरेका कृषि उपजहरु प्रर्दशनीमा राखिने र कृषकहरुको प्रोत्साहनका लागि पनि यो महोत्सवले सहयोग पु¥र्याउने गाउँपालिकाका उपाध्यक्ष सरिता खड्काले बताइन ।

जिल्लाकै ऐतिहासिक रुपमा रहेको पर्यटकीय क्षेत्र कंकेदेउरालीको पर्यटन विकास र स्थानीयस्तरमा रहेका कृषि उपजहरुको प्रवद्र्धनका लागि महोत्सवले टेवा पु¥र्याउने खड्काले बताइन । महोत्सवलाई जिल्लाकै महोत्सवको रुपमा सञ्चालन गर्न लागिएको भन्दै विद्यालय स्तरको प्रतिभाको खोजी अभियान अन्तरगत ‘मदाने तारा’ समेत सञ्चालन गर्न लागिएको उनले बताइन ।

महोत्सव अवधिभर अधिकांश स्थानीयस्तरका कलाहरुको प्रस्तुति रहने छ । गुल्मीको मदाने गाउँपालिकामा रहेको कंके देउराली पर्यटकको पर्खाइमा रहेको छ ।

नौ हेक्टर क्षेत्रफलमा फौलिएको कंके देउराली हेर्न तथा प्राकृतिक सौन्र्दयताको आनन्द लिन सकिन्छ । अझ त्यस स्थानको खास कुरा त के छ भने मन्दिर नजिकै रहेको बोटमा भक्तजनले उफारेर चढाएर घण्टीहरु बोटमै अडिएर रहने गर्दछन् ।

गाईको दूध धार दिने, तथा देउरालीको मन्दिरमा भाकल गरेमा मनोकाङ्क्षा पुरा हुने धार्मिक बिश्वास रहेको स्थानीयको भनाई छ । कंके देउराली क्षेत्रमा बिशेष गरी सेतो बरुवा, टिमुर, बोझो, निमपत्ता, आकाशवेली, सुगन्ध कोकील लगाएतका जडीबुटीहरु पाइने गर्दछन् ।

वनस्पितिको रुपमा लालीगुराँस, सेतो गुराँस, रक्तचन्दन, कटुस, ६ प्रकारका धुपीसल्ला लगायतका वनस्पतीहरु रहेका छन् । अहिले कंके देउरालीमा आउ–जाउ गर्ने सडक, मन्दिर र आर्कषक सिडी निर्माण लगायतका काम भएका छन् ।

थुप्रै सम्भावना बोकेको कंके देउरालीको अझै धेरै संरचना निर्माणसँगै उलेख्य रुपमा प्रचारप्रसार अभावमा उलेख्य रुपमा पर्यटक पुग्न सकेका छैनन् ।