गुल्मीको रिडी–बल्कोटखण्ड सडक बन्द हुने

admin

२०८१ माघ २४ गते, बिहीबार १८:२५ मा प्रकाशित

गुल्मी, २४ माघ । मदन भण्डारी राजमार्ग सडक अन्तरगत गुल्मीको रिडी–बल्कोट सडकखण्ड बन्द हुने भएको छ । उक्त सडकखण्ड अन्तरगत रुरुक्षेत्र गाउँपालिका –१ स्थीत साँखरा भिर क्षेत्रमा चट्टान फोर्ने, सडक चौडा गर्ने र ग्रेड मिलाउने कार्यका लागि करिब एक महिना उक्त सडक बन्द हुने भएकोे हो ।

मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीले सार्वजनिक रुपमा सूचना जारी गरी यही माघ २५ गतेदेखि फागुन २० गतेसम्म सडक पूर्ण रूपमा बन्द हुने मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका निमित्त योजना प्रमुख हुमनाथ पौडेलले जानकारी दिनुभएको छ ।

सडक सुचारु गरी काम गर्दा यात्रुहरुमा जोखिम हुन सक्ने भन्दै निर्माण व्यवसायीको माग अनुसार केही समयका लागि बैकल्पीक सडकको प्रयोग गरी उक्त सडक पुर्ण रुपमा बन्द गरिने भएको निमित्त योजना प्रमुख पौडेलले बताउनु भयो ।

सडक बन्द हुने भएपछि कार्यालयले यात्रुहरुलाई वैकल्पिक मार्गको लागि सातमुरेदेखि –श्रृङ्गा बलेटक्सारहुँदै रिडी, सातमुरदेखि–सिजिको बाटोहुँदै पाल्पाको हार्थोक र रिडीको सातमुरे रहदेखि – ठाडो खोलाहुँदै रिडीको सडक प्रयोग गर्न सुचित गरेको छ ।

मदन भण्डारी राजमार्ग योजना कार्यालयले आवश्यक समन्वयका लागि गुल्मी र अर्घाखाँची जिल्लाका जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, रुरुक्षेत्र गाउँपालिका, छत्रकोट गाउँपालिका, छत्रदेव गाउँपालिका, शसस्त्र प्रहरी बल गुल्म उर्लेनी, उद्योग वाणिज्य संघ र पश्चिम नेपाल बस व्यवसायी समितिलाई आग्रह गरेको छ ।