गुल्मीको पनाहा खोलामा विपद्जन्य कृतिम घटना अभ्यास 

admin

२०८२ जेष्ठ ११ गते, शनिबार ०७:१५ मा प्रकाशित

रेसुङ्गा समाचारदाता

गुल्मी, ९ जेठ । गुल्मीको पनाहा खोलामा शुक्रबार विपद्जन्य कृतिम घटना अभ्यास प्रदर्शन गरिएको छ । रेसुङ्गा नगरपालिका र इस्मा गाउँपालिकाको सिमाना पनाहा खोलामा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त सहभागितामा उक्त विपद्जन्य कृतिम घटनाको अभ्यास गरिएको हो ।

विपद्को समयमा तत्काल कसरी उद्धार गर्ने र कसरी त्यसको व्यवस्थापन र उद्धार क्षमतामा सुधार ल्याउन सकिन्छ भन्ने उद्देश्यले पनाहा खोलामा एकदिवशीय कृतिम घटना अभ्यास कार्यक्रम प्रदर्शन गरिएको हो । “अभ्यास मनसुन –५” नामाकरण गरिएकोे उक्त कार्यक्रममा आगलागि, बाढी, डुबान, खोंच तथा अफ्ठेरो भुभाग जस्ता सम्भावित स्थानमा प्राकृतिक प्रकोपमा परेका व्यक्तिलाई कसरी प्रभावकारी रूपमा उद्धार गर्ने भन्ने विषयमा घटनाको अभ्यास गरिएको थियो ।

कार्यक्रममा नेपाली सेनाको श्री रामवाण गुल्म, सशस्त्र प्रहरी वल, नेपाल प्रहरी लगायतको समन्वयमा विभिन्न सामाग्री र उपकरणहरुको प्रयोग गरी उद्धार सम्बन्धी कार्य गरिएको थियो । त्यसका साथै आगलागि नियन्त्रण, डुबेका व्यक्तिको उद्धार, घाईतेको प्राथमिक उपचार, घाईतेलाई सुरक्षित स्थानमा स्थानान्तरण जस्ता कृतिम अभ्यास समेत प्रदर्शन गरिएको थियो ।

अभ्यास कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले यस्ता प्रकारका अभ्यासहरु जिल्लामा आवश्यक रहेको भन्दै यिनले स्थानीय तहमा विपद् व्यवस्थापन क्षमतामा सुधार ल्याउने बताए । उनले कृतिम घटना अभ्यासले आपतकालीन अबस्थामा सुरक्षा निकायबीचको समन्वयलाई आगामी दिनमा थप मजबुत बनाउने बताउनु भयो ।

आपतकालीन परिस्थीतिमा कठिन भूभाग, पहाडको खोँच, खोलामा डुबेको स्थीति तथा आगलागि भएको अबस्थामा तत्कालै कसरी उद्धार गर्ने भन्ने विषयमा जानकारी दिनका लागि कृतिम घटना अभ्यास गरिएको तम्घास स्थीत श्री रामवाण गुल्मका प्रमुख एवं सेनानी तिलक केसीले बताउनु भयो । जिल्ला प्रशासन कार्यालय गुल्मीको समन्वयमा सञ्चालन भएको अभ्यास कार्यक्रममा विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि, स्थानीयवासी, शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।