३ असार २०८२, मंगलवार
७७ वर्षीय अर्यालको कृषि मोह ड्रयागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी गर्दै

जनार्दन घिमिरे गुल्मी, २४ जेठ । वाग्लुङ्ग जिल्लाको बडिगाड गाउँपालिका –५ का बालकृष्ण अर्याल यतिबेला ड्रयागन फ्रुट खेती गरेर राम्रो आम्दानी गर्न थाल्नु भएको छ । जन्मघर बडिगाड गाउँपालिका भए पनि अर्यालको कर्म घर गुल्मीको मुसिकोट नगरपालिका –१ स्थीत भर्माचौर हो ।
त्यही ठाउँमा अर्यालले गत तीन वर्षदेखि व्यावसायिक रुपमा ड्रयागन फ्रुट खेती गर्दै आउनु भएको छ । अर्यालले ४ रोपनी जग्गामा ३ सय पोलहरु गाडेर गत तीन वर्षदेखि ड्रयागन फ्रुटको खेती शुरु गर्नु भएको हो । उहाँको बगैंचामा रहेका हरेक पोलमा चारचार वटाका दरले १२०० ड्रयागन फ्रुटका बोटहरु रहेका छन । तीनै बोटबाट गत वर्ष २० क्वीण्टल उत्पादन भएको अर्यालले बताउनुभयो । यसपटक ३० क्वीण्टल उत्पादनहुने उहाँको अनुमान छ । यसलाई विस्तार गर्नका लागि उनले गत वर्षदेखि ड्रयागन फ्रुटका विरुवा समेत उत्पादन गर्न शुरु गर्नु भएको छ ।
अर्यालले बगैँचामा उत्कृष्ट १५ जातका १८ हजार भन्दा बढी विरुवा उत्पादन गर्नु भएको छ । उत्पादित विरुवालाई फुटकरमा न्यूनतम ५० देखि २५० रुपैंयासम्ममा बिक्री गर्ने उहाँले बताउनु भयो । उत्पादित फलले राम्रो बजार पाउने गरेपनि विरुवाहरुले भने बजार पाउन नसकेको अर्यालले बताउनु भयो । अर्यालले उत्पादन गरेको ड्रयागन फ्रुट बजारमा प्रतिकिलो ५०० रुपैंयामा बिक्री हुने गर्दछ । गत वर्ष उहाँले ड्रयागन फ्रुट बिक्री गरेर दश लाख रुपैयाँ आम्दानी गरेको बताउनु भयो । बडिगाड गाउँपालिका –५ ग्वालीचौर स्थित भानु माध्यमिक विद्यालयमा ३३ बर्ष प्राधानाध्यापकको जिम्मेबारी सम्हालेर गत १५ वर्ष अघि शिक्षण पेशाबाट अवकाश लिनुुभएका अर्याल यतिबेला ड्रयागन फ्रुट खेतीमा रमाउन थाल्नु भएको हो । उमेरले ७७ वषन्त टेक्नु भएका अर्यालका छोराहरु रोजगारीको क्रममा अमेरिका र अष्टे«लियामा हुनुहुन्छ । अर्यालको आफ्नै सरकारी पेन्सन पनि छ ।
बुढेसकालमा छोराहरुसँग देश विदेश घुमेर रमाउने समयमा उहाँ गाउँमै बसेर कृषि कर्ममा रमाउनु भएको छ । अर्यालको यस्तो सक्रियताले गाउँका धेरै मानिसलाई नयाँ उर्जा र प्रेरणा थपेको छ । “शुरुमा मैले यो पेशा अगाँल्दा गाउँलेलाई पत्यारै लागेन, धेरै जनाले यी पोलहरु गाडेर यो बुढाले बुढेसकालमा के उपद्रो गर्न लाग्यो होला भनेर नाक चिम्राउथे, कतिले यो नहुने काम गर्यो भनेर विस्वासै गरेनन्, तर गरे त हुँदोरहेछ नि” उहाँले भन्नुभयो । तिनै नाक चिम्राउने र विस्वास नगर्नेहरुलाई पनि अर्यालले बगैँचा भरी ड्रयागन फ्रुटले लटरम्म बनाएपछि गाउँलेहरु पनि अचम्मित परेका थिए ।
स्थानीय सरकारले पनि व्यावसायिक कृषकहरुलाई अनुदान उपलब्ध गराउने नीति बनाएको मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले बताउनु भयो बुढ्यौलीले ओरालो लाग्दै गर्दा र कपाल फुल्दै गर्दा पनि अर्यालको यो हिम्मत र जाँगर अझै पनि कुनै तन्नेरीको भन्दा कम छैन । अर्यालले हालसम्म कुनै पनि स्थानीय तहबाट अनुदान नपाएको बताउनु भयो । “यसमा २० लाख मेरो लगानी भैसकेको छ, यसैले २०/२५ वर्ष आम्दानी दिन्छ,, कसैले पनि अझै सहयोग गरेको छैन” अर्यालले भन्नुभयो । उहाँले बाँझिएको खेतबारीलाई आफ्नै एकल पौरख र मेहनतले पसिना बगायर सिंचित गर्दै आउनुभएको छ । पछिल्लो समयमा धेरै मानिसहरु गाउँ छाडेर परिवारहरुसँगै शहर पसे पनि अर्याल दम्पति भने यतिबेला खुसीसँगै गाउँमा कृषि कर्ममा रमाईरहनु भएको छ ।