२ चैत्र २०८२, सोमबार
गुल्मीदर गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक
रेसुंगा समाचारदाता गुल्मी ६ असार । गुल्मीदरबार गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले “सवल, सक्षम उत्थानशील स्थानिय सरकार, संमृद्ध र समुन्नत गुल्मीदरबार” भन्ने नारालाई आत्मसाथ गर्दैै गाउँसभाको १७ औं अधिवेशनमा शुक्रबार २१ पृष्ठ लामो नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियोे । गाउँपालिका अध्यक्ष थापाले प्रस्तुत गर्नु भएको नीति कार्यक्रममा “आँगनका फुलवारी– कौशिमा मौरी घारी–घरपछाडी करेसाबारी,” “कृषि उपज उत्पादन–हातहातमा अनुदान,” “कृषि उत्पादनमा वृद्धि ः गुल्मीदरबारको संमृद्धि,” जस्ता कार्यक्रमलाई मुख्य प्राथमिकतामा राख्नुभएको छ ।

त्यसैगरी उहाँले गुल्मीदरबारका महिला–उद्यमशिलतामा पहिला, श्रमको सम्मान–गुल्मीदरबारको अभियान, स्वस्थ आँँखा–सुन्दर संसार, विवादको साटो–मेलमिलापको बाटो, हाम्रो चाहना–सुस्वास्थ्यको कामना, जेष्ठ नागरिक–समाजका अभिभावक लगायतका नयाँ कार्यक्रमहरु समावेश गर्नु भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, खानेपानी, युवा लक्षित कार्यक्रम, पर्यटन प्रवद्र्धन फोहोर मैला व्यवस्थापन, युवा उद्यम सिर्जना, कृषि, पशुपालन, जस्ता कार्यक्रमहरुलाई यस पटक पनि निरन्तरता दिईएको छ । कार्यक्रममा बादर, बनेल लगायतका वन्यजन्तुबाट कृषकहरुमा परेको समस्याको समाधान गर्ने, अपांग तथा जेष्ठ नागरिकहरुलाई निशुल्क एम्वुलेन्स सेवा उपलब्ध गराउने, विपन्न सुत्केरी राहत, दीर्घरोगिका लागि निशुल्क औषधि उपचार, ४० वर्ष नाघेका अविवाहित महिला र ४५ वर्ष नाघेका अविवाहित पुरुषलाई दिँदै आएको सामाजिक सुरक्षा भत्ता लगायतका कार्यक्रमलाई निरन्तरता दिईएको छ । प्रसुतीहुने महिलाहरुलाई निशुल्क एम्बुलेन्स सेवा, आमासँग गाउँपालिका, मेरी आमा, स्वस्थ आमा, संस्कृती, पर्यटन प्रवद्र्धन, खेलकुद, लंैंङ्गिक समानता, आर्थिक तथा सामाजिक विकास र भौतिक पुर्वाधार जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखिएकोे छ । नीति कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा थापा ढेगा, प्रमुख प्रशासकिय अधिकृत भेषराज घिमिरे, गाउँसभा सदस्यहरु, कर्मचारी एवं सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

