“धर्म गरे तरिन्छ” भजन सार्वजनिक

admin

२०८२ श्रावण २० गते, सोमबार १४:११ मा प्रकाशित

गुल्मी, १९ साउन ।

परामानन्द गुरू महाराजको महिमा र भक्तिभावनामा समर्पित नयाँ भजन “धर्म गरे तरिन्छ” हालै सार्वजनिक गरिएको छ।

धार्मिक चेतना र भक्तिभावलाई संगीतमार्फत जनमानसमा पु-याउने उद्देश्यले तयार पारिएको यस भजनले भजन–कीर्तनको महिमा र भगवानप्रतिको निष्ठालाई उजागर गरिएको छ।

यस भक्तिमय सिर्जनामा शब्द सर्जक हेमनाथ खरालको गहिरो आध्यात्मिक अनुभूति झल्किन्छ भने लय, परिकल्पना र निर्माण ख्यातिप्राप्त संगीतकर्मी किरण खरेलले गर्नुभएको छ।

गायनतर्फ लोकप्रिय गायक महेन्द्र भण्डारी, रमेश विश्वकर्मा र गायिका विष्णु श्रीपालीको सशक्त स्वरले भजनलाई अझ प्रभावकारी बनाएको छ।

“धर्म गरे तरिन्छ” केवल एक भजन मात्र नभई भक्तिभाव, धार्मिक मूल्य र आध्यात्मिक सन्देश बोकेको संगेतिक प्रस्तुति समावेश रहेको गीत भएको सर्जकहरूको भनाइ छ।

यसले श्रोतामाझ सकारात्मक ऊर्जा, शान्ति र धर्मप्रति श्रद्धा फैलाउने अपेक्षा गरिएको छ। यसै सन्दर्भमा, “प्रकृतिको देन लुकेको ठाउँ, हाम्रो कोटेश्वरलाई विश्वभर चिनाऔँ” भन्ने मूल नाराका साथ यस वर्ष पनि गुल्मीको आँपचौरस्थित कोटेश्वरधामको व्यापक प्रचारप्रसार गर्ने उद्देश्यले अर्को लोक भजन “जय जय कोटेश्वर” तयार पार्न लागिएको छ।

यस भजनमा आँपचौरका सबै धार्मिक धरोहरहरू साथै गुल्मीका पवित्र भूमिहरूलाई समेट्ने प्रयास गरिएको छ। यसमा परम्परागत रीतिरिवाजको संरक्षण र प्रवर्द्धनमा समर्पित यस्ता प्रयासहरूलाई सबैले साथ र समर्थन दिनुपर्ने सन्देश समेत दिइएको छ।