धार्मिक एवं पर्यटकिय क्षेत्र रेसुङ्गामा नगर कार्यपालिका बैठक 

admin

२०८२ कार्तिक २७ गते, बुधबार १८:२० मा प्रकाशित

गुल्मी, २६ कात्तिक । गुल्मीको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल रेसुंगामा रेसुंगा नगर कार्यपालिकाको बैठक सम्पन्न भएको छ । ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण रेसुङ्गा क्षेत्रमा पहिलो पटक रेसुङ्गा नगरपालिकाको नगर कार्यपालिका बैठक सम्पन्न भएको हो । नगर प्रमुख खिलध्वज पन्थीको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा नगर क्षेत्रको विकास, पर्यटन प्रवद्र्धन र सार्वजनिक सेवा प्रवाहमा गर्नु पर्ने सुधार लगायतका विषयमा विशेष छलफल गरिएको नगर प्रमुख खिलध्वज पन्थीले बताउनुभयो ।

रेसुङ्गा क्षेत्र गुल्मीको धार्मिक, सांस्कृतिक र पर्यटकिय पहिचानको केन्द्रका रूपमा परिचित छ । यस क्षेत्रलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गर्ने उद्देश्यका साथ नगरपालिकाले विभिन्न पूर्वाधार विकासका योजना अघि बढाइरहेको छ । बैठकमा उपप्रमुख, वडाध्यक्षहरू, प्रमुख प्रशासकिय अधिकृत, शाखा प्रमुखहरू लगायत जनप्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरूले रेसुङ्गा क्षेत्रको प्राकृतिक सौन्दर्य, धार्मिक स्थल र पर्यटन क्षेत्रको संरक्षण गर्दै यसको दिर्घकालिन विकासमा जोड दिनुपर्ने बताउनु भएको थियो ।

सोही अवशरमा नगरपालिकाले रेसुङ्गा सडक सरसफाइ अभियानमा सहभागी संघ, संस्था र सरोकारवाला निकायहरूलाई सम्मान समेत गरेको थियो । कार्यक्रममा नगरप्रमुख खिलध्वज पन्थीले दुई दर्जनभन्दा बढी संघ–संस्थाहरूलाई प्रशंसा पत्रसहित सम्मान गर्नुभएको थियो ।

गत दुई सातादेखि सञ्चालन भइरहेको सरसफाइ अभियानमा रेसुङ्गाका मठमन्दिर, बाटोघाटो, विश्रामस्थल र पर्यटकीय स्थलहरूमा स्थानीयवासी, विद्यार्थी, उद्योगी, व्यापारी, सामाजिक संस्था र युवा समूहहरूले सहयोग गरेका थिए ।

अभियानमा सहयोग पुराउनेहरुलाई सम्मान गर्दै नगरप्रमुख पन्थीले रेसुंगाको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व झल्काउने यस अभियानलाई नगरपालिकाको साझा सपना र प्रतिबद्धतासँग जोडिएको बताउँदै सबैलाई नगरपािलकाको तर्फबाट धन्यवाद व्यक्त गर्नुभएको थियो ।