२५ जेष्ठ २०८३, सोमबार
कफीको उद्गम स्थल आँपचौरमा कृषकहरूसँग अन्तरक्रिया गरेर कफी दिवस मनाईयो
गुल्मी, १ मंसिर । गुल्मीमा सरोकारवाला संस्थाहरुले कफी दिवशको अवशरमा नेपालमै कफीको उद्गम स्थल आँपचौरमा पुगेर कफी कृषकहरुसँग अन्तरक्रिया गरी २१ औँ राष्ट्रिय कफी दिवस मनाएका छन । दिवसको अवसरमा कफी विकास केन्द्र आपचौर, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम र कफी अनुसन्धान कार्यक्रमको संयुक्त आयोजनामा कफी विकास केन्द्रमा उक्त दिवश मनाईएको थियो ।
कार्यक्रममा विज्ञ तथा सरोकारवालाहरूले कफी नेपालको महत्वपूर्ण नगदेवाली भएको औल्याउँदै तिनै तहका सरकारले कफी खेतीमा लगानी बढाउनु पर्नेमा जोड दिनुभएको छ । जिल्लामा कफीको क्षेत्रमा काम गर्ने विभिन्न निकाय तथा कार्यालयहरू रहे पनि उनीहरु विच समन्वयको अभावका कारण कफी खेतीमा कृषकहरुको सहभागिता घट्दै जान थालेको बताईएको थियो । कार्यक्रममा विश्वमै स्वादका आधारमा नेपाली कफी सातौँ स्थानमा पर्ने भन्दै बाँझो जमिनमा समेत कफी खेती गरेर राम्रो आम्दानी लिन सकिने बताईएको थियो ।
अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण बहादुर खत्रीले गुल्मी जिल्लालाई चिनाउने मुख्य आधार भनेको कफी नै भएको भन्दै यसको उत्पादन र प्रवद्र्धनका लागि स्थानीय स्तरबाट नै सबै जागरुक हुनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रमका सहभागि कफी कृषकहरुले कफीलाई व्यावसायिक बनाउन कृषकलाई पहिलो चार वर्षसम्म टिकाइ राख्ने वातावरण बनाउनकालागि स्थानीय तहलाई आग्रह गर्नुभएको थियो ।
सहभागिहरुले प्रत्येक पालिकाले वार्षिक रुपमा कम्तीमा पाँच हजार कफीका विरुवा रोपण कार्यक्रम अघि सार्नुपर्ने सुझाव दिनुभएको छ । कफी उत्पादक कृषकहरूले कफी खेतीमा देखिएका समस्या, प्राविधिक ज्ञान, बजार विस्तार, ५० रोपनी जग्गामा कफी लगाउने कृषकलाई प्रोत्साहन गर्नुपर्ने धारणा राख्नु भएको थियो ।
कफी दिवसको अवशरमा मुसिकोट नगरपालिका प्रमुख जिवलाल खरेल जीवन, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम गुल्मीका प्रमुख रमेश जैसवाल, कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धिताल, जिल्ला सहकारी संघका अध्यक्ष यम बहादुर थापा, पुर्व नगर प्रमुख सोमनाथ सापकोटा लगायतले कफीको इतिहास र यसको महत्वको बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा कफी विकास केन्द्र आपचौरका प्रमुख राहुल पाण्डे र कफी अनुसन्धान कार्यक्रम बलेटक्सारका प्रमुख जनार्दन गौतमले कार्यपत्र प्रस्तुत गर्दै स्थानीय तहलाई कफीको खेतीको विस्तारका लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो । उक्त कार्यक्रममा जिल्ला स्थित विभिन्न पालिकाका जनप्रतिनिधि तथा कफी कृषकहरूको सक्रिय सहभागिता रहेको थियो ।

