जिल्लामा शान्ति–सुरक्षा कायम गर्नु प्रमुख प्राथमिकता ः प्रजिअ गैह्रे

admin

२०८२ मंसिर ३ गते, मंगलवार १९:२३ मा प्रकाशित

गुल्मी, २ मंसिर । गुल्मीमा भर्खर मात्र सरुवाभई आउनु भएका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बद्रीनाथ गैह्रेले जिल्लाको शान्ति–सुरक्षालाई थप मजवुत बनाउदै सुशासन र पारदर्शिता कायम राख्ने बताउनु भएको छ । उहाँले जिल्लामा लामो समयसम्म कार्यान्वयनमा ढिलाई भएका विकास निर्माणका योजनाहरुको समेत अनुगमन गरी त्यसलाई छिटो अघि बढाईने बताउनुभयो ।

दैलेख जिल्लाबाट सरुवाभई सोमबारमात्र गुल्मी आईपुग्नु भएका प्रमुख जिल्ला अधिकारी गैह्रेले आज जिल्ला प्रशासन कार्यालय गुल्मीमा सञ्चारकर्मी र विभिन्न राजनीतिक दलका प्रतिनिधिसँग छुट्टाछुट्टै भेटघाट गर्नुभएको थियो । उहाँले जिल्ला स्थित राजनीतिक दल तथा विभिन्न सरोकारवाला निकायहरुसँग छलफल र समन्वय गरी आउँदो निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्र्नेे आफ्नो प्रमुख दायीत्व रहेको औल्याउनुभयो ।

नेपालको इतिहासमा जेन्जी आन्दोलको क्रममा सार्वजनिक र नीजि सम्पत्तिमा ठूलो क्षती पुगेको र त्यसले नागरिकहरुमा मनोवैज्ञानिक रुपमा परेको अशरलाई कमगर्न सुरक्षाकर्मीहरुलाई समेत उच्च मनोवलका साथमा काम गर्न निर्देशन दिएको बताउनुभयो । उहाँले प्रशासन कार्यालयबाट प्रदान गरिने सेवा प्रवाहलाई अझ थप प्रभावकारी र नागरिक मैत्री बनाउनका लागि स्थानीयतहसम्म पुगेर सेवा प्रवाह सम्बन्धि अभिमुखिकरण गराईने उल्लेख गर्नुभयो ।

भेटघाटको क्रममा सञ्चारकर्मीहरूले सूचना प्रवाह पारदर्शी बनाउन, जनगुनासा छिटो समाधान गर्न र प्रशासन र मिडियाको सहकार्यलाई थप प्रभावकारी बनाउने लगातका विषयमा आआफ्ना धारणाहरु व्यक्त गर्नुभएको थियो । त्यसैगरी जिल्लामा शुरु भएका विकास निर्माणका कामलाई छिटो अघि बढाउन र समन्वयको अभाव देखिएका कतिपय क्षेत्रमा प्रशासनले नेतृत्व लिएर समस्या समाधान गर्न सुझाव समेत दिनुभएको थियो ।

प्रमुख जिल्ला अधिकारी गैह्रेले आफुले पनि जिल्लामा रचनात्मक काम गर्ने योजना बनाएको भन्दै जिल्लामा शान्ति–सुरक्षा, सुशासन कायम गर्ने कुरामा आफु सधै प्रतिबद्ध रहने बताउनु भएको थियो । नयाँ प्रमुख जिल्ला अधिकारीको सक्रियतासँगै जिल्लामा प्रशासनिक काम, सेवा प्रवाह र विकास योजनामा गतिशीलता आउने अपेक्षा गरिएको छ ।