२७ फाल्गुन २०८२, बुधबार
सेवा प्रवाहलाई थप सहज बनाउँदै जिल्ला प्रशासन कार्यालय गुल्मी
गुल्मी, ११ मंसिर । जिल्ला प्रशासन कार्यालय गुल्मीले सेवा प्रवाहलाई सहज, सरल र थप प्रभावकारी बनाउँदै लगेको छ । कार्यालयले सेवाग्राहीहरुको सहजताका लागि वडा तहबाट सिफारिस भइ आएका कागजातहरुका लागि थप निवेदन आवश्यक नपर्ने व्यवस्था गरेको छ ।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले सूचना जारी गरी सेवाग्राहीलाई थप निवेदन लेख्ने झन्झट नदिनका लागि जिल्ला प्रशासन कार्यालयमा नयाँ व्यवस्था लागु गरिएको जानकारी गराउनु भएको छ । उहाँका अनुसार प्रशासन कार्यालयमा दैनिक रुपमा धेरैजना सेवाग्राहीहरू निवेदन लेख्नुपर्ने झन्झटका कारण एकातिर समय खर्चिनु पर्ने र अर्कोतिर त्यही निवेदन लेखाउन अन्य व्यक्तिलाई गुहार्नु पर्ने समस्याको अन्तहुने बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयमा दिनहुँहुने सेवाग्राहीको भीड कम गर्ने उद्देश्यले नयाँ व्यवस्था लागु गरिएको प्रमुख जिल्ला अधिकारी गैह्रेले बताउनुभयो । अबदेखि वडा कार्यालयबाट आउने सिफारिसमा नै सम्बन्धित विषयको पुष्टिहुने शब्दावली राखेर स्वयंम व्यक्तिलाई हस्ताक्षर गराउने व्यवस्था गरिएको छ । वडा कार्यालयले दिएको सिफारिसमै ‘उल्लेखित व्यहोरा ठीक साँचो हो, फरक परेमा प्रचलित कानुन बमोजिम सहुँला बुझाउँला’ भन्ने व्यहोरा उल्लेख गरी सही–छाप गराएमा अतिरिक्त निवेदन आवश्यक नपर्ने बताइएको छ ।
यसरी वडा कार्यालयमै विषय स्पष्ट भएर आएको अवस्थामा प्रशासन कार्यालयले सोही आधारमा सेवा उपलब्ध गराउने जनाएको छ । यसबाट छिटो सेवा उपलब्ध हुने, निवेदन लेख्नका लागि छुट्टै कर्मचारी खटाउन नपर्ने र सेवाग्राहीको समय तथा खर्च दुवै वचतहुने प्रजिअ गैह्रेको बताउनुभयो । छुट्टै निवेदन लेख्न नपरे पनि सेवाग्राहीले आवश्यक दस्तुर हुलाक टिकट सहित आवश्यक कागजात भने अनिवार्य रूपमा पेश गर्नुपर्ने उहाँले बताउनुभयो ।
त्यसका अतिरिक्त सेवा प्रवाहलाई थप सहज बनाउन जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीका लागि यदि सेवाग्राहीले आवश्यक कागजातको फोटोकपी ल्याउन छुटाएमा अत्यावश्यक अवस्थामा कार्यालयको सहायता कक्षबाट निःशुल्क रुपमा फोटोकपी सेवा उपलब्ध गराइने सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो ।
कार्यालयद्वारा बिहिबारदेखि शुरु गरिएको नयाँ व्यवस्थासँगै सेवा प्रवाह थप सहज र नागरिकमैत्री बन्ने अपेक्षा गरिएको छ ।


