३ बैशाख २०८३, बिहीबार
युवा र किसानलाई केन्द्रमा राखेर अघि बढ्छौं ः भण्डारी
गुल्मी, २९ माघ । नेपाली काँग्रेसका नेता डा.चन्द्र भण्डारीले किसान र युवाका समस्या समाधानका लागि आफुहरुले उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाउनु भएको छ । देशमा अझै पनि किसानहरुले समयमा मल, बीउ, बजार र उचित मूल्य पाउने समस्या यथावत रहेको उल्लेख गर्दै उहाँले पछिल्ले समयमा किसानहरू वन्यजन्तु (बाँदर) को आतंकबाट समेत पीडित बनेको बताउनुभयो । उहाँले किसानको नाममा गएको अनुदान दुरुपयोग गर्नेलाई कानुनी दायरामा ल्याई रकम फिर्ता गरिनुपर्ने र किसानलाई पहिलो प्राथमिकतामा राखेर नीति निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ ।
नेपाली काँग्रेस रेसुङ्गा नगर समिति गुल्मीद्वारा आज बिहीवार सदरमुकाम तम्घासमा आयोजना गरिएको कार्यकर्ताहरुसँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता भण्डारीले रोजगारी तथा नीतिगत सुधार अभावका कारण युवाहरू विदेशिन बाध्य भइरहेको बताउनुभयो । उहाँले स्रोतको प्रयोग गर्दै युवाशक्तिलाई विकास र रोजगारीमा जोड्न सके पाँच वर्षभित्रै मुलुकलाई सम्पन्न राष्ट्रको दिशामा अघि बढाउन सकिने दाबी गर्नुभयो । कठिन रोगको उपचारमा राज्यले सहयोग गर्ने व्यवस्था विस्तार गर्ने र स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बताउनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।
गत निर्वाचनमा गुल्मीवासीले विश्वासका साथ आफुलाई मत दिएका कारण जिल्लामा सडक, पुल र विद्युत् विस्तारमा उल्लेखनीय प्रगति भएको दाबी गर्दै नेता भण्डारीले यस पटक पनि उक्त कार्यलाई निरन्तरता दिनुपर्ने बताउनु भएको छ । उहाँले सडक, पुल लगायतका पूर्वाधार विकासका अधिकांश योजना काँग्रेसकै नेतृत्वमा अघि बढेको उल्लेख गर्नुभएको थियो ।
काँग्रेसलाई नयाँ ढंगबाट अघि बढाउने प्रयास भइरहेको भन्दै नेता भण्डारीले त्यसका लागि स्पष्ट दृष्टिकोण सहित काँग्रेसमा नयाँ पुस्ताको आगमन भएको बताउनुभयो । “खाली बस्ने र गफ गर्ने छुट नेताहरूलाई छैन, मुलुक बनाउनका लागि स्पष्ट कार्यक्रम र प्रभावकारी कार्यान्वयन आवश्यक छ, त्यो काँग्रेससँग छ,” उहाँले भन्नुभयो ।
नेता भण्डारीले मुलुकको रूपान्तरणका लागि संविधान संशोधन आवश्यक रहेको समेत औंल्याउनु भएको थियो । उहाँले संसद्को आकार घटाउने, दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था गर्ने तथा कर्मचारी संख्या घटाएर डिजिटल प्रणालीमार्फत सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभएको छ ।

