गुल्मीमा मतदान स्थलमै प्राथमिक उपचार डेस्क राखिने

admin

२०८२ फाल्गुन ७ गते, बिहीबार १८:०० मा प्रकाशित

गुल्मी, ७ फागुन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै गुल्मीका सबै मतदान स्थलमा प्राथमिक उपचार डेस्क स्थापना गरिने भएको छ । मतदानका दिन उत्पन्न हुनसक्ने आकस्मिक स्वास्थ्य समस्याको तत्काल समाधानका लागि स्वास्थ्यकर्मी, आवश्यक औषधि तथा प्राथमिक उपचार सामग्री सहित प्रत्येक केन्द्रमा डेस्क राख्ने तयारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेको पहलमा जिल्ला स्थित सबै स्थानीय तहलाई पत्राचार गर्दै यस्तो व्यवस्था मिलाउन आग्रह गरिएको छ । साथै स्थानीय तह अन्तर्गत सञ्चालनमा रहेका सबै एम्बुलेन्सलाई बढी मतदान स्थलको पहुँचमा रहने गरी तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ, । आपत्कालीन अवस्थामा मतदातालाई छिटो स्वास्थ्य संस्थासम्म पु¥याउन सकियोस् भन्ने उद्देश्यले उक्त तयारी गर्न लागिएको प्रजिअ गैह्रेले जानकारी दिनुभयो ।

निर्वाचन तयारीका क्रममा जिल्ला सुरक्षा समिति र मुख्य निर्वाचन अधिकृत सहितको टोलीले अधिकांश मतदानस्थलको निरीक्षण सम्पन्न गरिसकेको जनाएको छ । निरीक्षणका क्रममा कतिपय मतदानस्थलसम्म पुग्ने सडक निर्माणाधीन अवस्थामा रहेकाले फागुन १५ गतेभित्र मुख्य तथा वैकल्पिक सडकमार्ग अवरोधमुक्त राख्न स्थानीय तहलाई अनुरोध गरिएको छ ।

त्यसैगरी केही मतदानस्थलमा निर्माण सामग्री यत्रतत्र छरिएको पाइएको भन्दै सुरक्षाको दृष्टिले जोखिम न्यूनीकरण गर्न फागुन १५ गतेभित्र उक्त सामग्रीको उचित व्यवस्थापन गर्न भनिएको छ । मतदान व्यवस्थापनका लागि आवश्यक सवारी साधन प्रयोग गर्नुपर्ने भएकाले मतदानका दिन चालक सहित स्थानीय तहका सबै चारपाङ्ग्र्रे सवारी साधनलाई तयारी अवस्थामा राख्न समेत आग्रह गरिएको छ ।

कर्मचारी परिचालन भइसकेपछि मतदान केन्द्र निर्माण तथा व्यवस्थापनमा सहजीकरण गर्न स्थानीय जनप्रतिनिधि, सम्बन्धित निकायका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि तथा नागरिक समाजसँग समन्वय गर्न निर्देशन दिइएको छ । निर्वाचनलाई सुरक्षित, व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न प्रशासनले स्वास्थ्य सुरक्षा, पूर्वाधार व्यवस्थापन र स्थानीयस्तरको सहकार्यलाई प्राथमिकतामा राखेर तयारी तीव्र पारेको जनाएको छ ।

दुईवटा निर्वाचन क्षेत्र रहेको गुल्मीमा एक लाख १५ हजार २१० महिला, एक लाख १४ हजार ३३७ पुरुष र अन्य २ जना गरी कुल दुई लाख २९ हजार ५४९ मतदाताहरु रहेका छन । यस पटकको निर्वाचनमा जिल्लामा १४५ मतदान स्थल र २८४ मतदान केन्द्र कायम गरिएको छ ।