२२ चैत्र २०८२, आईतवार
मौसमको प्रतिकुलताका कारण रेसुङ्गा विमानस्थलमा उडान प्रभावित
गुल्मी, २८ फागुन । मौसमको प्रतिकुलताका कारण गुल्मीको रेसुङ्गा विमानस्थलमा हवाई उडान प्रभावित बनेको छ । नेपाल वायु सेवा निगमले बाक्लो तुवालोका कारण मौसममा आएको परिवर्तनसँगै हवाई गुल्मीको हवाई उडान प्रभावित बनेको जनाएको छ ।
फागुनको पहिलो हप्तादेखि सातामा तीन पटक मात्र हवाई उडान गर्दै आएको निगमले यस पटक बाक्लो तसवालोका कारण आईतबार र मंगलबारको हवाई उडान अबरुद्ध बनेको रेसुङ्गा विमानस्थल गुल्मीका स्टेशन प्रमुख सुमन थापाले बताउनु भयो । थापाका अनुसार खराब मौसमले गर्दा टिकट काटेका यात्रुहरु विमानस्थल आएर फर्कनु पर्ने बाध्यता भएको बताउनुभयो । “सनिबारका लागि पनि सबै यात्रुहरुले टिकट काटेर बस्नुभएको छ, मौसम झनै बिग्रदै गएको छ, यस्तै हे भने सनिबार पनि जहाज आउने सम्भावन न्यून देखिन्छ,” स्टेशन प्रमुख थापाले भन्नुभयो ।
नेपाल वायु निगमले उडान तालिकामा परिवर्तन गरेसँगै गुल्मीको रेसुङ्गा विमानस्थलबाट आइतवार, मंगलवार र शनिवार गरी सातामा तीन पटक मात्र उडान हुँदै आएको छ । नेपाल वायुसेवा निगमका हाल तीन वटा मात्र ट्वीनअटर जहाज रहेको र उक्त जहाजहरु समय समयमा मर्मत गर्नु पर्ने भएका कारण जहाजको अभावमा निगमले गुल्मीको उडान तालिकामा परिवर्तन गरेको हो ।
रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमले १८ सिट क्षमताको ट्वीनअटर जहाजबाट काठमाण्डौदेखि बिहान ६ः३० बजे र रेसुङ्गा विमानस्थलबाट बिहान ७ ः३० बजे उडान गर्दै आईरहेको छ । निगमले काठमाडौंबाट गुल्मीका लागि ७ हजार पाँच सय रुपैंया र गुल्मीदेखि काठमाडौंका लागि ७ हजार तीन सय रुपैयाँ भाडादर निर्धारण गरेको छ । रेसुङ्गा विमानस्थलमा दिउसोको समयमा अत्याधिक हावाको चाँपहुने भएकोहुँदा प्राविधिक दृष्टिकोणले बिहानको समयमा मात्र उडान हुने गर्दछ ।
गुल्मीमा हवाई उडान शुरु भएसँगै जिल्लामा आउने आन्तरिक एवं वाह्य पर्यटकहरुको संख्यामा समेत बृद्धिहुँदै गएको छ । १६ देखि १८ घण्टासम्मको लामो यात्रा तय गरेर राजधानी पुग्नुपर्ने बाध्यता रहेको यस क्षेत्रका नागरिकहरुले आकास मार्गबाट ४५ देखि ५० मिनेटमै गुल्मीबाट राजधानी आवतजावत गर्न सहज बनेको छ ।
जिल्लामा हवाई सेवा लिने नागरकहरुको चाँप पछिल्लो समयमा बढ्दै गएको छ । तर यात्रुहरुको चाँप बढेपनि उडान सख्या थोरै हुने र उडान तालिका नियमित नहुँदा यस क्षेत्रका नागरिकहरु समस्या उत्पन्न हुनेगरेको छ । गुल्मीमा नेपाल वायुसेवा निगमले २०८० बैशाख २९ गतेदेखि व्यावसायिक रुपमा हवाई सेवा शुरु गरेको थियो ।

