गुल्मी घटनामा प्रशासनको भूमिकाप्रति चार दलको आपत्ति

admin

२०८३ जेष्ठ २४ गते, आईतवार ०७:५५ मा प्रकाशित

गुल्मी, २४ जेठ । गुल्मीमा इस्मा गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुँवर सहित महिला कर्मचारी र शिक्षकमाथि भएको दुव्र्यवहार प्रकरणमा प्रशासन र प्रहरीको भूमिका निन्दनीय रहेको भन्दै जिल्लाका चार राजनीतिक दलले आपत्ति जनाएका छन् ।

नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चाका जिल्ला तहका प्रतिनिधिले आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति आपत्ति जनाएका हुन् । जेठ ८ गते मालिका गाउँपालिका–८ कुटी सिमलटारीमा आयोजित आध्यात्मिक ज्ञान जागरण एवं वैदिक संस्कृति संरक्षण समाजको कार्यक्रममा सहभागी हुन जाने क्रममा इस्मा गाउँपालिकाकी उपाध्यक्ष सहितको टोलीमाथि अराजक समूहले अवरोध सिर्जना गरेको, गालीगलौज र चालकलाई हातपात समेत गरेको भन्दै दलहरुले घटनाको भत्र्सना गरेका छन् ।

विज्ञप्तिमा पीडित पक्षको जाहेरी तत्काल दर्ता नगरिएको तथा जनप्रतिनिधिको दबाबपछि मात्रै दर्ता गरिएको उल्लेख गर्दै अनुसन्धान प्रक्रिया ढिलो भएकोप्रति प्रश्न उठाइएको छ । आन्दोलनरत महिलालाई घटनाको अनुसन्धानबारे जानकारी गराउने क्रममा प्रशासनले झुक्याएर आरोपितलाई रिहा गरेको आरोप समेत विज्ञप्तिमा उल्लेख छ ।

चार दलले महिला जनप्रतिनिधि तथा कर्मचारीले आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा सुरक्षित वातावरण पाउनु पर्नेमा उल्टै भय र त्रासको अवस्था सिर्जना भएको बताएका छन् । उनीहरूले न्यायको पक्षमा आवाज उठाइरहेका महिलासँग ऐक्यबद्धता जनाउँदै प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक तथा सम्बन्धित निकायलाई निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्न आग्रह समेत गरेका छन् ।

विज्ञप्तिमा प्रशासनले सुशासन र कानुनी राज्यको प्रत्याभूति हुने गरी आफ्नो कार्यशैली सच्याउनुपर्ने उल्लेख गर्दै अन्यथा संयुक्त संघर्षका कार्यक्रम अघि बढाइने चेतावनी दिइएको छ । संयुक्त विज्ञप्तिमा नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थी, नेकपा (एमाले) गुल्मीका उपसचिव चक्रबन्धु भुसाल, नेपाली कम्युनिष्ट पार्टीका संयोजक तेजेन्द्र सलामी मगर तथा राष्ट्रिय जनमोर्चाका प्रतिनिधि हरि न्यौपानेले हस्ताक्षर गर्नुभएको छ ।