एचआईभी सङ्क्रमितहरुका लागि सत्यवती पालिकाद्वारा सहयोग

admin

२०८२ बैशाख २५ गते, बिहीबार ०९:१७ मा प्रकाशित

गुल्मी, २४ बैशाख । गुल्मीको सत्यवती गाउँपालिका यतिबेला एचआईभी सङ्क्रमितहरुको लागि आर्थिक सहायता प्रदान गरिएको छ । आर्थिक अभावका कारण उपचारका लागि सदरमुकाम तम्घास, पाल्पा र बुटवलमा रहेका एआरटी केन्द्रसम्म औषधि लिन जानुपर्ने २५ जना एचआईभी सङ्क्रमित लागि उक्त सहयोग प्रदान गरिएको हो ।

एचआईभी सङ्क्रमितहरुको पारिवारिक अबस्था अत्यन्तै कमजोर, न्यून आम्दानी एवं आर्थिक अभावका कारण एआरटी केन्द्रसम्म पुग्न नसक्दा कतिपयले औषधि लिन तथा स्वास्थ्य जाँच गराउन नसकेर बिचैमा छोड्नु पर्ने अबस्था थियो । उक्त समस्या समाधान गर्न गाउँपालिकाले उनीहरुको जीवन शैलीमा परिवर्तन ल्याउनका साथै पोषण स्थीतिमा सुधार ल्याउन वार्षिक रुपमा यातायात खर्च वापत लाग्ने रकम सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेले बताउनु भयो ।

जिल्लामा लामो समयदेखि एचआईभी सङ्क्रमितहरुको क्षेत्रमा काम गर्दै आएको हाम्रो जीवन प्लसद्वारा सङ्कलित तथ्याङ्क र व्यक्तिले दिएको निवेदनको आधारमा यातायात खर्चको रकम सम्बन्धित व्यक्तिको वैंक खातामा पठाईदिने व्यवस्था गरिएको अध्यक्ष पाण्डेले जानकारी दिनुभएको छ । गाउँपालिकाले यस वर्ष २५ जना एचआईभी सङ्क्रमितहरुका लागि उक्त रकम उपलब्ध गराईसकेको पालिकाका स्वास्थ्य शाखा प्रमुख हिमलाल भण्डारीले बताउनु भयो । एचआईभी सङ्क्रमितहरु हरेक तीनतीन महिनामा स्वास्थ्य जाँच र औषधिका लिनका लागि एआरटी केन्द्रमा पुग्नुपर्र्नेे बताईएको छ ।

सत्यवती गाउँपालिकामा हाल ३६ जना एचआईभी सङ्क्रमित रहेपनि हाल २५ जनाले मात्र उक्त सहयोग लिएको पालिकाले जनाएको छ । कतिपय एचआईभी सङ्क्रमितहरु समाजमा खुल्न नचाहेका कारण सम्पर्कमा आउन नचाहेको स्वास्थ्य शाखा प्रमुख भण्डारीले बताउनु भयो ।

हाम्रो जीवन प्लसले एचआईभी सङ्क्रमितका लागि जिल्लामा घर समुदायमा आधारित हेरचाह कार्यक्रम सञ्चालन गरेको छ । सो कार्यक्रम अन्तरगत सेवाग्राहीको घरसम्म पुग्ने, उनीहरुले नियमित औषधि खाए नखाएको हेर्ने, परामर्श दिने, प्रेषण गर्ने (रिफर), लगायतका काम गर्दै आएको छ । त्यसका अतिरिक्त संस्थाले जन्मेदेखि १८ वर्षसम्मका एचआईभी सङ्क्रमित वालवालीकाहरुका लागि उनीहरुको शिक्षा र स्वास्थ्यमा राहत पुगोस भन्ने उद्देश्यले मासिक दुइ हजार रुपैया सहयोग उपलब्ध गराउँदै आएको छ ।

घर समुदायमा आधारित कार्यक्रम अनुसार हाल २७ जना सङ्क्रमित वालवालीकाहरुलाई उक्त सुबिधा प्रदान गरिएको हाम्रो जीवन प्लसकी अध्यक्ष जुना ज्ञवाली जानकारी दिनुभएको छ । उहाँले जिल्लामा सञ्चालनमा आईरहेको सामुदायीक हेरचाह केन्द्र बन्द भएपछि सङ्क्रमित सेवाग्राहीहरुको अबस्था यतिबेला थप समस्यामा परेको बताउनु भयो । जिल्लामा हाल तीन सय १२ जना एचआईभी सङ्क्रमितहरु रहेका छन ।