गुल्मीमा पहिलो पटक स्थानीय धानको चामल बजारमा

admin

२०८२ असार ३ गते, मंगलवार १४:२४ मा प्रकाशित

रेसुंगा समाचारदाता गुल्मी, ३ असार । गुल्मीमा पहिलो पटक स्थानीय धानको चामललाई प्याकेजिङ् र ब्राण्डीङ्ग गरि बजारमा ल्याईएको छ । जिल्लाको धुर्कोट गाउँपालिका –६ सिस्तुङ्गका कृषक मेघनाथ अर्यालले अर्याल खाद्यान्न प्रशोधन तथा प्याकेजिङ्ग उद्योग मार्फत धुर्कोटे स्थानीय चामल व्यावसायिक रुपमा बिक्रीका लागि बजारमा ल्याउनु भएको हो । अर्यालले स्थानीय उत्पादनलाई व्यावसायिक रुपमा प्रवद्र्धनगरि बजारीकरण गर्ने उद्देश्यले आफुले उत्पादन गरेको चामललाई ‘धुर्कोटे चामल’ को नाममा ब्राण्डिङ्ग गरी पहिलो पटक बजारमा पठाईएको बताउनु भयो ।

उहाँले प्रशोधन गरेको चामललाई २५/२५ किलोको अलगअलग बोरा बनायर प्याकिङ्ग गरिएको छ । उक्त २५ किलोको बोरालाई दुई हजार पाँच सय मुल्य निर्धारण गरिएको छ । धुर्कोट गाउँपालिकाको आर्थिक सहयोग तथा हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोगमा उद्योग स्थापना गरि चामल उत्पादन गर्न थालिएको हो । धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले एक कार्यक्रमकाबीच ‘धुर्कोटे चामल’ को शुभारम्भ गर्नुभएको हो ।

गाउँपालिका अध्यक्ष पोख्रेलले पहाडी क्षेत्रमा चिसो पानीमा उत्पादन भएको धुर्कोटे चामल खानको लागि मिठो र स्वादिलो भएका कारण बजारमा यसको माग धेरैहुने बताउनु भयो । यसका लागि पालिकाबाट आगामी दिनमा यसको बजारीकरण, प्रबिधि तथा ढुवानी लगायतका क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । कृषक अर्यालले कृषि र पशुपालन क्षेत्रमा करोडौ रुपैयाँ लगानी गरेर कृषि कर्मलाई निरन्तरता दिएको भन्दै पालिकाद्वारा उहाँलाई ६७ हजार नगद सहित यस वर्षको उत्कृष्ट कृषक सम्मान पुरस्कारद्वारा सम्मानित गरिएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले गाउँ खाली हुनलाग्दा पनि शहरको सुखसयल जीवनलाई छोडेर गाउँमै फर्कियर अर्यालले गरेको कर्मबाट हामी सबैले पाठ सिक्नुपर्ने बताउनु भयो । उहाँले उत्पादनलाई आम्दानीसँग जोड्नका लागि उद्योगले ठूलो सहयोग पुराउने विश्वास व्यक्त गर्नुभयो । उत्पादित चामललाई नापतौल तथा गुणस्तर विभागबाट आवश्यक सम्पुर्ण प्रकृया पुरागरी बजारमा पठाईएको कृषक एवं उद्योगका सञ्चालक मेघनाथ अर्यालले बताउनु भयो । अर्यालले गत मङ्सिर महिनामा एक्लैले ४ सय मुरी धान उत्पादन गर्नु भएको थियो । उहाँले एक सय १२ रोपनी क्षेत्रफलमा व्यावसायिक रुपमा धान खेती गर्दै आउनु भएको छ ।