गुल्मी प्रहरीद्वारा धार्मिक स्थल रेसुंगा जाने पैदल मार्गको सरसफाई 

admin

२०८२ श्रावण १० गते, शुक्रबार १९:४३ मा प्रकाशित

रेसुंगा समाचारदाता

गुल्मी, ९ साउन । गुल्मी प्रहरीले धार्मिक स्थल रेसुंगा जाने पैदलमार्गको सरसफाई गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नारायण प्रसाद अधिकारीको नेतृत्वमा प्रहरी टोलीले रेसुंगा जाने पैदलमार्ग सरसफाइ गरेको हो ।

रेसुंगा नगरपालिका -८ स्थित खानीगाउँदेखि पैदल मार्गहुँदै नुनामारे सडक निस्कने छोटो दूरीको पैदलमार्गको सिढी र नाली सफा गर्नुका साथै केही मर्मत समेत गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो । शुक्रबार बिहान ६२ जनाको प्रहरी टोलीले उक्त स्थानको सरसफाइ गरेको हो ।

धार्मिक स्थल रेसुंगामा साउन महिनाभर मेला लाग्ने गर्दछ । मेला लक्षित गरि सिढीमा जम्मा भएको सल्लाको पात र नालीमा भएको झाडीलाई सरसफाइ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख नारायण प्रसाद अधिकारीले बताउनु भयो ।

उक्त क्षेत्रमा सरसफाइ गरिएसॅगै रेसुंगा जाने पैदल यात्रीलाई थप सहज पुग्ने बताईएको छ। प्रहरीले यस अभियानलाई निरन्तरता दिने जनाएको छ ।