जिल्ला प्रशासन कार्यालय गुल्मीले बिहान ८ वजेबाट सेवा सञ्चालन गर्ने

admin

२०८२ भाद्र २२ गते, आईतवार १९:०६ मा प्रकाशित

गुल्मी, २२ भदौ । जिल्ला प्रशासन कार्यालय गुल्मीले सेवाग्राहीको सुबिधालाई मध्यनजर गर्दै राष्ट्रिय परिचयपत्र विवरण दर्ताको समयमा परिवर्तन गरेको छ । प्रशासन कार्यालयमा दिनहुँ बिहानैदेखि बेलुकी अबेरसम्म पनि सेवाग्राहीहरुको अत्यधिक भिडभाडहुने भएका कारण भोली भदौ २३ गतेबाट बिहान ८ बजेदेखि दैनिक रुपमा दुई घण्टा अघिदेखि सेवा सुचारु गर्ने भएको हो ।

त्यसका लागि जिल्ला प्रशासन कार्यालयले आइतबार सार्वजनिक रुपमा सूचना जारीगरि र सर्वसाधारणलाई यस विषयमा जानकारी समेत गराईसकेको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत तारानाथ फुल्लेलले बिहानी सत्रमा नयाँ परिचयपत्र बनाउनेहरुका लागि मात्र विवरण दर्ता गरिने जानकारी दिनुभएको छ । उहाँले यस अघि विवरण दर्ता गरिसकेका र सच्याउनु पर्ने र बितरण गर्ने परिचय पत्रका लागि भने दश वजेपछि मात्र सेवा प्रदान गरिने जानकारी गराउनु भएको छ ।

सरकारले सरकारी एवं वित्तिय क्षेत्र र सामाजिक सुरक्षा भत्ता लगायतका कामकाजका लागि राष्ट्रिय परिचयपत्र विवरण अनिवार्य गरेपछि गुल्मीमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्नका लागि दिनहुँ सेवाग्राहीहरुको अत्यधिक चाँप हुनेगरेको छ । थोरै कर्मचारी, सेवाग्राहीहरु धेरै आउने, जेष्ठ नागरिकहरुको बढी चाँपहुने र समय समयमा सर्वर अवरुद्धहुने जस्ता समस्यालाई समाधान गर्न बिहानी सत्रको सेवाले नागरिकलाई थप सहयोग पुराउने अपेक्षा गरिएको प्रशासकीय अधिकृत फुल्लेलले बताउनुभयो ।

गुल्मीमा नयाँ राष्ट्रिय परिचयपत्र विवरण दर्ता गराउनेहरुको संख्या दैनिक रुपमा सरदर एक सय २० देखि एक सय ३० र परिचयपत्र लिन आउने सेवाग्राहीहरुको संख्या सरदर एक सय दशदेखि २० जनासम्म हुनेगरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।