संबिधान घाईते र मुर्छित अबस्थामा छ ः उपमहासचिव ज्ञवाली

admin

२०८२ कार्तिक ३० गते, शनिबार १०:१६ मा प्रकाशित

गुल्मी, २९ कात्तिक । नेकपा एमालेका उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले वर्तमान अबस्थामा संबिधान घाईते र मुर्छित अबस्थामा रहेको कारण संबिधान संकटमा परेको बताउनुभएको छ । उहाँले यतिबेला देशमा संबिधानले चिन्दै नचिनेको सरकार बनेको भन्दै यसले लोकतन्त्र, राष्ट्रियता, संबिधान र समग्र मुलुकको प्रणाली माथि आक्रमण गरेको बताउनुभयो ।

प्रेस चौतारी गुल्मीले सनिबार बिहान सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले देशमा उत्पन्न राजनीतिक अस्थिरता र राष्ट्रियताको संरक्षणका लागि सिङ्गो देश एकताबद्धहुनु आवश्यक रहेको समेत बताउनु भएको छ । उहाँले देश गम्भीर राजनीतिक अन्योलतर्फ धकेलिएको भन्दै संसद पुनःस्थापनाको मागलाई एमालेले जनस्तरमा बलियोका साथ उठाइरहेको स्पष्ट पार्नुभयो ।

नेता ज्ञवालीले असंवैधानिक ढंगले विघटित गरिएको प्रतिनिधिसभा पुनःस्थापना नै वर्तमान राजनीतिक समाधानको मूल चाबी भएको बताउनुभएको छ । उहाँले संगठनलाई आत्मबलका साथ पुनःउर्जासिल बनाउने, जनस्तरमा प्रत्यक्ष उपस्थित भई प्रतिक्रिया बुझ्ने र जनभावनालाई राजनीतिमा सुव्यवस्थित ढङ्गले रूपान्तरण गर्ने अभियान सुरु गरिएको बताउनुभयो ।

समसामयिक राजनीतिक संकटबारे चर्चा गर्दै ज्ञवालीले वर्तमान सरकारले संवैधानिकता, वैधानिकता र राजनीतिक विश्वास गुमाएको आरोप लगाउँदै संसद विघटनको निर्णयको मूल उद्देश्य नै जनआवाज दबाउने, निरंकुश अभ्यास लाद्ने र संवैधानिक प्रणालीलाई कमजोर पार्ने रहेको बताउनुभयो ।

उपमहासचिव ज्ञवालीले हालैको ‘जेन्जी आन्दोलन’ शान्तिपूर्ण नागरिक अधिकारको प्रकृतिबाट सुरु भए पनि पछि सुनियोजित ढङ्गले हाइज्याक गरिएको आरोप लगाउनुभयो । वर्तमान सरकारको गतिविधि र सुरक्षा व्यवस्थापनप्रति टिप्पणी गर्दै ज्ञवालीले भन्नुभयो, “साढे पाँच हजार कैदी बाहिर छन्, हतियार बाहिर छन् । यस्तो अवस्थामा निष्पक्ष र निर्भय वातावरणमा चुनाव हुनसक्ने संभावना देखिदैन । सरकार दलविरोधी प्रवृत्ति र नेताहरूसँग दूरी बढाउने काममा लागेको देखिन्छ ।”

9   एमाले अहिले देशव्यापी जनपरिचालनमा केन्द्रित रहेको उल्लेख गर्दै ज्ञवालीले संसद पुनःस्थापना, सर्वपक्षीय सरकार र शान्तिपूर्ण रुपमा संक्रमण अन्तयका लागि चौतर्फी सहमतिको आवश्यकता रहेको औल्याउनु भयो । जेन्जी आन्दोलनपछि पहिलो पटक गृहजिल्ला आउनुभएका ज्ञवालीले पार्टी भित्रको संरचनागत चुनौती र हालै ध्वस्त पारिएको पार्टी कार्यालयको पुनःनिर्माणका लागि आफुहरू दृढतापूर्वक अघि बढेको बताउनुभयो ।