३ बैशाख २०८३, बिहीबार
उद्योग दिवसको अवशरमा गुल्मीमा उत्कृष्ट उद्यमीहरु सम्मानित
गुल्मी, ९ मंसिर । एघारौँ उद्योग दिवस–२०८२ को अवसरमा गुल्मीमा उत्कृष्ट उद्यमीहरु सम्मानित हुनुभएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीद्वारा मंगलबार सदरमुकाम तम्घासमा आयोजना गरिएको उद्यमी सम्मान कार्यक्रम अन्तर्गत जिल्लाभरबाट ३२ जना उत्कृष्ट उद्यमी कृषकहरुलाई सम्मान गरिएको हो ।
जिल्लामा यस वर्ष उत्कृष्ट उद्यमी कृषकमा सम्मानित हुनेहरुमा रेसुङ्गा नगरपालिका ‐८ बाट च्याउ उद्यमी कमला भलामी र मुसिकोट नगरपालिका‐१ बाट मिश्रित खेतीतर्फ बालकृष्ण अर्याल रहनुभएको छ । त्यसैगरी रेसुङ्गा नगरपालिकाका राजु आचार्य र विष्णु महत पोख्रेल, मुसिकोट नगरपालिकाबाट राम बहादुर बोहोरा, रेसुङ्गाकी श्यामकला भलामी, मालिकाका शेषकान्त गौतम र रेसुङ्गा नगरपालिकाबाट गोपाल नेपाली उत्कृष्ट उद्यमी कृषकबाट सम्मानित हुनुभएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख राजिव अर्यालले जानकारी दिनुभयो ।
कार्यालयले जिल्लाका १२ स्थानीय तहबाट आएका सिफारिस र कार्यालयबाट प्रत्यक्ष स्थलगत रुपमा गरिएको अनुगमन र तोकिएका विभिन्न सूचकहरुको मापदण्डका आधारमा उद्यमीहरुको छनौट गरिएको जनाएको छ । उद्योग दिवसको अवशरमा जिल्लाका १२ स्थानीय तहबाट दुइ÷दुइ जना र कार्यालयको तर्फबाट जिल्ला भरबाट छनौट गरिएका उत्कृष्ट थप आठ जना गरी ३२ जनालाई सम्मान गरिएको थियो ।
उद्योग दिवसको अवशरमा कार्यालयले उत्कृष्ट सञ्चारकर्मीको रुपमा जिल्लाबाट चार जना पत्रकारहरुलाई समेत सम्मान गरेको छ । यसरी उत्कृष्ट सञ्चारकर्मीको रुपमा सम्मानित हुनेहरुमा पत्रकारहरु जनार्दन घिमिरे, टोपलाल अर्याल, अनिल खत्री र हुमकान्त पोख्रेल रहनुभएको छ ।
कार्यक्रमका जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले स्थानीय उत्पादन, घरेलु उद्योग र उद्यमशीलता प्रवद्र्धनमा जोडदिँदै सम्मानितहुने उद्यमीहरूलाई निरन्तर रुपमा उद्यम कर्ममा लाग्न आग्रह गर्नुभएको थियो । कार्यक्रममा सहभागी उद्यमीहरूले स्थानीय उत्पादनको बजार व्यवस्थापन, तालिम तथा सीप, सरकारी निकायबाट बितरित अनुदान र उद्यममैत्री नीतिबारे विभिन्न सुझाव र जिज्ञासाहरु राख्नु भएको थियो । उक्त कार्यक्रममा जिल्ला स्थित विभिन्न सरकारी निकायका र स्थानीय तहका कर्मचारी, उद्योग व्यवसायी तथा उद्यमीहरूको सहभागिता रहेको थियो ।

