१८ बैशाख २०८३, शुक्रबार
निर्भय वातावरण बने चुनावको सामना गर्न एमाले तयार छ ःप्रदीप ज्ञवाली
गुल्मी, २० पुस । नेकपा (एमाले) का केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले निर्भय र अनुकूल वातावरण बने निर्वाचन सामना गर्न पार्टी पूर्ण रूपमा तयार रहेको बताउनु भएको छ । गृह जिल्ला गुल्मीको सदरमुकाम तम्घासमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारले त्यसका लागि वातावरण बनाउन नसकेको बताउनुभयो ।
उहाँले केन्द्रीय महाधिवेशनले पार्टीलाई नयाँ ऊर्जा र नेतृत्वलाई नयाँ ढंगको वैधता दिएको उल्लेख गर्नुभयो । महाधिवेशनपछिका घटनाक्रममा सबैभन्दा बढी प्रहार एमालेमाथि भएको बताउँदै उहाँले पार्टीले तीन महिनामै संगठन सम्हाल्दै प्रत्येक पालिकामा लोकतन्त्र र संविधानको पक्षमा प्रदर्शन गरेको बताउनुभयो । हाल देखिएको प्रतिकूलता क्षणिक भएको नेता ज्ञवालीको भनाइ छ ।
केन्द्रीय कमिटीमा ४० वर्षमुनिका युवाहरू समावेश हुनु पार्टीभित्र पुस्तान्तरणको स्पष्ट संकेत भएको उहाँले बताउनुभयो । विभिन्न धारबाट आएका नेता तथा कार्यकर्तालाई हार्दिकतापूर्वक ग्रहण गरिएको भन्दै उहाँले पार्टिमा क्रियाशीलताको मूल्यांकन तथा योगदानको कदर गरिने बताउनुभयो ।
चुनावबाट पन्छिने कल्पना एमालेले नगरेको स्पष्ट पार्दै उहाँले संसद् विघटन असंवैधानिक भएको विषय अदालतमा विचाराधीन रहेको स्मरण गराउनुभयो । संसद् पुनःस्थापना नै सबैभन्दा छिटो र उपयुक्त बाटो भएको भन्दै ज्ञवालीले सर्वपक्षीय सरकार गठन गरी चुनावमा जानुपर्नेमा जोड दिनुभएको छ ।
निर्भयता नै निर्वाचनको मूल मर्म भएको उल्लेख गर्दै उहाँले हाल उम्मेदवार लक्षित हिंसाका घटनाको जोखिम कायमै रहेको उल्लेख गर्नुभयो । लोकतन्त्र संकटमा पर्दा प्रमुख राजनीतिक दलहरूबीच न्यूनतम समझदारी र सहकार्य आवश्यक रहेको उहाँको भनाई रहेको थियो ।

